काठमाडौं – विद्यालय शिक्षा विधेयकमा संशोधन आवश्यक रहेको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पदाधिकारीहरूले सम्माननिय राष्ट्रपती रामचन्द्र पौडेललाई विशेष भेट गरी लिखित धारणा पेस गरेका छन्।
राष्ट्रपती कार्यालय शीतल निवासमा भएको भेट विशेष भेटमा नेसनल प्याब्सनका पदाधिकारीहरूले छात्रवृत्ति, पूर्व–प्राथमिक तह, सामाजिक सुरक्षा कोष र कम्पनीमा दर्ता भइ सञ्चालनमा रहेका संस्थागत विद्यालय सम्बन्धी प्रावधान व्यवहारिक नभएको औंल्याउँदै संशोधन गर्नुपर्ने धारणा राखेका हुन् । पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रावधानले शुल्क वृद्धि भई श्रमजीवी अभिभावकलाई थप बोझ पर्ने, मध्यम आय भएका परिवारका बालबालिकाले विद्यालय छाड्नुपर्ने अवस्था सिर्जना हुन सक्ने भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने धारणा प्रस्तुत गरिएको थियो। त्यस्तै, पूर्व–प्राथमिक तहलाई दुई वर्षमा सीमित गर्ने व्यवस्था व्यवहारिक नभएकाले अन्तर्राष्ट्रिय मान्यता अनुसार तीन वर्ष कायम गर्नुपर्नेमा नेसनल प्याब्सनले जोड दिएको छ ।
सामाजिक सुरक्षा कोषमा सबै विद्यालयलाई अनिवार्य सहभागी गराउने प्रस्ताव व्यवहारिक नदेखिएको भन्दै यसलाई ऐच्छिक बनाउनुपर्ने कुरा राखीएको छ। कम्पनीमा दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई निरन्तरता दिनुपर्ने, तहगत अनुमति दिने व्यवस्था मिलाउनुपर्ने, शिक्षक तलब–भत्तामा हाल कायम ६०% र ४०% को प्रणाली निरन्तरता दिनुपर्ने, छात्रवृत्ति वितरण गर्दा शुल्कमा प्रत्यक्ष असर नपर्ने व्यवस्था गर्नुपर्ने लगायतका विषयमा पनि नेसनल प्याब्सनले लिखित रुपमा पेश गरेको छ , साथै कृत्रिम बुद्धिमत्ता AI जस्ता विषयलाई विद्यालय तहमै समावेश गरी नेपाललाई शैक्षिक हबका रूपमा विकास गर्ने दृष्टिकोण पनि प्रस्तुत गरिएको थियो।
यसै बिच, शिक्षा विधेयकका अप्ठ्यारा प्रावधान र सामाजिक सुरक्षा कोष सम्बन्धी विषयमा सम्बन्धित दुवै मन्त्रीहरु रघुजी पन्त र शरद सिंह भण्डारीलाई भेटी लिखित सुझाव पेस समेत गरेको र भेटमा दुवै मन्त्रीहरुले आफ्नो तर्फबाट सकारात्मक प्रतिबद्धता समेत जनाएको कुरा राष्ट्रपती मार्फत प्रष्ट्याएका थिए । नेसनल प्याब्सनले विद्यालयलाई शान्ति क्षेत्रको रूपमा मान्यता दिनुपर्ने, आफूहरू विद्यालय बन्द–हड्तालको पक्षमा नरहेको र लामो समयपछि आउन लागेको विद्यालय शिक्षा ऐन विद्यार्थी, अभिभावक, लगानीकर्ता र समग्र शिक्षा क्षेत्रकै लागि ऐतिहासिक कोसेढुङ्गा सावित होस् भन्ने अपेक्षा व्यक्त गरेको कुरा गरेका थिए ।
उक्त विशेष भेटमा नेसनल प्याब्सनका केन्दीय अध्यक्ष गीता क्षेत्री राणा, निवर्तमान अध्यक्ष पाण्डव हमाल, नि. महासचिव पारसमणि दाहाल, उपाध्यक्ष तिलक चौहान, उप महासचिव कृष्ण पौडेल र काठमाडौं जिल्ला सदस्य विजय न्यौपाने समेतको सहभागी रहेका थियो ।






