१२२ उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा, सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइएको मन्त्रीको दाबी

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ जना शाखा अधिकृतको सरुवा गरी एकैपटक पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ ।

यससँगै देशभरका गाउँपालिका र नगरपालिका सबैमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत पुगिसकेका छन् । अबसम्म १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतकै भरमा सञ्चालन हुँदै आएका थिए ।

मन्त्री भगवती न्यौपानेले स्थानीय तह पुनर्संरचना पछि पहिलोपटक देशभरका पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत शून्य पारिएको दाबी गर्नुभयो । उनले भनिन्, “मैले मन्त्रालय सम्हाल्दा ७५३ मध्ये २०० पालिका निमित्तकै भरमा चलिरहेका थिए, तर आजबाट कुनै पनि पालिका निमित्तविहीन बनेका छन् ।”

मन्त्रालयका अनुसार, निजामती सेवा ऐन, २०४९ अनुसार अवकाशको चरणमा रहेका कर्मचारी बाहेक अन्यलाई पारदर्शिता, कार्यकुशलता र भौगोलिक अनुभवलाई प्राथमिकता दिँदै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको हो ।

यस क्रममा दुई वर्षभन्दा बढी मन्त्रालय वा केन्द्रमा सीमित, स्थानीय तहमा अहिलेसम्म खटिन नसकेका, प्रदेशस्तरमा काम गरेका तथा फाजिल समूहमा रहेका कर्मचारीलाई प्राथमिकतामा राखेर पालिकामा खटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्री न्यौपानेले जिम्मेवारी पाएका कर्मचारीलाई दक्षता र इमानदारीसहित काम गर्न निर्देशन दिएकी छन् । उनले थप भनिन्, “स्थानीय तहलाई निमित्त प्रमुखकै भरमा चलाउने प्रवृत्ति अन्त्य गर्नैपर्ने थियो, देश र जनतालाई केन्द्रमा राखेर यो निर्णय गरिएको हो ।”

मन्त्रालयले दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाएसँगै अबसम्म निमित्तलाई दिइएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्द भएको छ ।

यस्तै, सहसचिव स्तरका प्रमुख प्रशासकीय अधिकृत खटाइने ९ उपमहानगरपालिका र एक महानगरपालिकामा पनि चाँडै दरबन्दीअनुसारको प्रमुख प्रशासकीय अधिकृत पठाइने मन्त्रालयको सचिवालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्