ट्रम्पको पुटिनलाई चेतावनी – युद्धविराम नभए रूसले गम्भीर परिणाम भोग्ने

 

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सहमत नभए रूसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

ट्रम्प र पुटिनबीच युक्रेन युद्धविरामबारे वार्ता शुक्रबार अलास्कामा हुने तय भएको छ। बुधबार युरोपेली नेताहरूसँगको भर्चुअल बैठकमा ट्रम्पले पुटिनलाई शान्तिका लागि सहमत गराउन सफल हुनेमा आफू विश्वस्त रहेको बताए। तर, सहमति नभए ‘अत्यन्त गम्भीर परिणाम’ हुने चेतावनी दिए।

अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्स का अनुसार ट्रम्पले पुटिन युद्धविरामका लागि तयार नभए कडा कदम चालिने बताए। पत्रकारहरूले ‘गम्भीर परिणाम’ भन्नाले के भन्ने प्रश्न गर्दा उनले स्पष्ट जवाफ दिन टारेको सिएनएनले जनाएको छ। ट्रम्पले भने, “मलाई थप भन्नु छैन, तर युद्धविराम नभए रूसले गम्भीर परिणाम भोग्नुपर्नेछ।”

ट्रम्पले पुटिनसँगको वार्ता सफल भए तत्कालै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित त्रिपक्षीय वार्ता गर्ने योजना रहेको बताए। दोस्रो वार्ता पहिलोभन्दा बढी प्रभावकारी र नतिजामुखी हुने दाबी उनले गरे।

पुटिनसँगको बैठक सकिनेबित्तिकै युरोपेली नेताहरूलाई टेलिफोनमार्फत वार्ताका विषयबारे जानकारी दिने बताउँदै ट्रम्पले युरोपेली नेताहरूसँगको भर्चुअल बैठकलाई ‘अत्यन्त रचनात्मक र मैत्रीपूर्ण’ भएको टिप्पणी गरे। “हाम्रो निकै राम्रो कुराकानी भयो। म यसलाई १० मा १० दिन्छु,” उनले भने।

जर्मन चान्स्लर फ्रेडरिक मर्जले पनि बैठकलाई अत्यन्त सौहार्दपूर्ण र रचनात्मक भएको भन्दै युक्रेनमा शान्तिका लागि आशा व्यक्त गरे। भर्चुअल वार्तामा ट्रम्प, उनका उपराष्ट्रपति जेडी भान्स, युक्रेनी राष्ट्रपति जेलेन्स्की, जर्मन चान्स्लर मर्ज, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीलगायतका युरोपेली नेताहरू सहभागी थिए।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्