काठमाडौं — मौसमविदहरूले आगामी एक–दुई दिन मनसुन सक्रिय रहने र पूर्वी नेपालमा बढी वर्षा हुने सम्भावना जनाएको छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार हालको तुलनामा अझै बढी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मनसुन सुरु भएदेखि धेरैजसो स्थानमा हल्का र मध्यम वर्षा भइरहे पनि तराईमा लामो समय खडेरी थियो। तर, अगस्ट महिनाको सुरुवातसँगै देशभर वर्षा सुरु भएको छ। विभागका मौसमविदहरूको भनाइमा आगामी दिनहरूमा वर्षाको मात्रा र क्षेत्र दुवै बढ्ने देखिएको छ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज बेलुकादेखि केही ठाउँमा वर्षा बढ्दै जाने र बुधबारसम्म धेरै स्थानमा भारी वर्षा हुने सम्भावना छ। उनले भने, “पूर्वबाट सुरु भएको भारी वर्षा क्रमशः पश्चिमतर्फ सर्दै बुधबारसम्म पुग्नेछ।”
हाल मनसुन न्यूनचापीय रेखा सरदर स्थानको भन्दा केही माथि रहेको र त्यसलाई नजिकबाट नियालिँदै आएको विभागले जनाएको छ। “यदि एकदमै ठूलो वर्षाको संकेत देखिएमा विशेष बुलेटिनमार्फत जानकारी दिइनेछ,” विभागका मौसमविद गोविन्द झाले भने।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने मधेश प्रदेशसहित बाँकी पहाडी र तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुनसक्नेछ। राति पनि यस्तै मौसम रहने र कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने विभागले जनाएको छ।






