काठमाडौं – बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाडौंमा बस्दैछ । राजीनामा दिनुअघि नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक बोलाएका हुन् ।
बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुनेछन् । दिउँसो २ बजे बैठक बसेर पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिए ।
उनका अनुसार पूर्व सहमति कार्यान्वयन हुने अवस्था नदेखिएपछि बैठक बस्न लागेको हो । सहमति कार्यान्वयन हुने निश्चित नभएसम्म बानियाँलाई विश्वासको मत पनि नदिने अडान उनीहरुको छ । यसअघि लामाविरुद्ध कांग्रेसकै सांसदले अविश्वासको प्रस्ताव लगेर दलको नेताबाट हटाएका थिए । लगत्तै भएको निर्वाचनबाट बानियाँ नेता चुनिएका थिए । त्यसपछि सभापति देउवासँगको छलफलपछि लामाले राजीनामा दिएका थिए । राजीनामा दिनुअघि लामाले नियुक्त गरेका मन्त्रीलाई कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने लगायतका सहमति भएका थिए ।






