धनगढी — कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबन्दीबीच पुनः झडप हुँदा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार मृतक धनगढी–४ निवासी ४० वर्षीय भरत चौधरी लागुऔषध मुद्दामा थुनामा थिए। राति करिब ११ बजे भएको झडपमा गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
घटनामा घाइते भएका मध्ये तीन जनाको अवस्था गम्भीर रहेको र उनीहरूको सेती प्रादेशिक अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। यसअघि बिहीबार पनि जिल्ला कारागारमा झडप भएको थियो, जसमा ५ जना घाइते भएका थिए। लगातार दुई दिनमा भएको झडपका कारण कारागारको सुरक्षा व्यवस्था र कैदीबन्दीबीचको तनावबारे प्रश्न उठेका छन्।







