बंगलादेशमा सेनाको जेट क्याम्पस परिसरमा दुर्घटना, १९ को मृत्यु, १६४ घाइते

काठमाडौँ — बंगलादेशको राजधानी ढाकास्थित दियाबारी क्षेत्रमा सेनाको एफ-सेभेन जेट विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। सोमबार दिउँसो भएको यो दुर्घटना माइलस्टोन क्याम्पस परिसरमा परेको हो, जसले एकाएक ठूलो जनधनको क्षति निम्त्याएको छ।

बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ का अनुसार दुर्घटनामा १६४ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। मृत्यु हुनेमध्ये अधिकांश क्याम्पसका विद्यार्थी रहेको पुष्टि भएको छ।

बंगलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्स (ISPR) का अनुसार यो दुर्घटना विमान प्रशिक्षण उडानको क्रममा भएको थियो। विमान दिउँसो १:०६ बजे उडेपछि साढे १ बजेतिर क्याम्पस परिसरमा खसेको थियो। दुर्घटनामा विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम सागर को पनि ज्यान गएको छ।

प्रत्यक्षदर्शी र प्राध्यापकहरूले छुट्टी हुने समयमा विमान खसेको जनाएका छन्, जसले विद्यार्थीहरूको उपस्थितिमा दुर्घटनाको असर गम्भीर बनाएको हो।

घटनापछि बंगलादेश सरकारले मंगलबारलाई राष्ट्रिय शोक घोषणा गरेको छ। मंगलबार देशभरका सरकारी, अर्धसरकारी, स्वायत्त र शैक्षिक संस्थाहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ। साथै, दुर्घटनाको कारणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको बताइएको छ।

यो दुर्घटनाले बंगलादेशको रक्षा सुरक्षा अभ्यास र सार्वजनिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। शोकाकुल परिवार र सम्पूर्ण बंगलादेशी जनताप्रति नेपाललगायत विभिन्न देशका नेताहरूले समवेदना प्रकट गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्