काठमाडौँ – रसुवाको नेपाल–चीन सिमानामा रहेको मितेरीपुल भोटेकोशी नदीमा आएको बाढीले बगाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान करिब ३:१५ बजे आएको भीषण बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढीको मितेरीपुलमा क्षति पुर्याएको हो।
प्राधिकरणका अनुसार छिमेकी चीनतर्फको अविरल वर्षापछि नदीमा आएको अत्यधिक बाढीले पुलसँगै टिमुरेस्थित भन्सार यार्डमा समेत ठूलो क्षति पुर्याएको छ। बाढी पस्दा भन्सार परिसरमा राखिएका केही मालवाहक कन्टेनरहरू बगाएका छन्। यद्यपि हालसम्म कुनै मानवीय क्षति नभएको जनाइएको छ।
नदीमा पानीको बहाव अझै उच्च रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरुलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन पनि निर्देशन दिइएको छ।
भन्सार सञ्चालन प्रभावित
रसुवागढी नाकामार्फत दैनिक रूपमा नेपाल–चीनबीचको मालसामान ओसारपसार हुने भएकाले मितेरीपुलमा क्षति पुगेपछि अन्तरदेशीय कारोबारमा अस्थायी अवरोध सिर्जना भएको छ। नेपालका तर्फबाट सुरक्षाकर्मी तथा प्राविधिक टोली घटनास्थलमा खटिएको प्राधिकरणले जनाएको छ।
उक्त क्षेत्रको अवस्थाबारे निरन्तर अनुगमन भइरहेको र थप जोखिमको मूल्याङ्कन गरिँदै गएको जानकारी दिइएको छ।






