काठमाडौं – काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट ल्याउन यसै साता कार्यपालिका बैठक बस्ने भएको छ। मेयर बालेन शाह र उपमेयर तथा वडाध्यक्षबीचको असमझदारीका कारण ढिलो भएको बैठक असार २५ वा २६ गते बोलाइने तयारी छ।
उपमेयर सुनीता डंगोल, वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धर, १५ का ईश्वरमान डंगोल र ३२ का नवराज पराजुलीले मेयरसँग सहमति गरी आकस्मिक बैठक बोलाउने निर्णयमा पुगेका हुन्। तर मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिमा बैठक नबोलाउने अडान लिएपछि विवाद बढेको थियो। धेरै छलफलपछि गुरागाईंलाई विदामा राखेर बैठक डाक्न उपमेयर तयार भएको जनाइएको छ।
अब कार्यपालिका बैठक बसेर तीन दिनभित्र नगरसभा बोलाई बजेट प्रस्तुत गर्ने तयारी छ। प्रवक्ता मानन्धरले “महानगर बन्धक बन्न सक्दैन, यो महिनाभित्रै बजेट पेस हुन्छ” भनेका छन्।






