त्रिवि उपकुलपतिका लागि तीन नाम सिफारिस, चाँडै नियुक्ति हुने संकेत

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित उपकुलपति छनोट सिफारिस समितिले आइतबारको बैठकमा टुंगो लगाएको नामावली सोमबार प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीलाई बुझाएको हो।

समितिको स्रोतका अनुसार, सिफारिस गरिएको नाम सार्वजनिक नगरिए पनि प्रारम्भिक सूचीमा निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, प्रा.डा. बिनिल अर्याल, प्रा.डा. योगेन्द्रबहादुर गुरुङ, प्रा.डा. उपेन्द्र कोइराला र प्रा. डिल्ली उप्रेती रहेका थिए। यिनैमध्येबाट तीन जनाको नाम अन्तिम सिफारिस सूचीमा परेको जनाइएको छ।

उपकुलपतिका लागि त्रिविका १२ जना प्राध्यापकहरू प्रतिस्पर्धामा थिए। तीमध्ये पाँच जनालाई समितिले पहिलो चरणमा छनोट गरी अन्तर्वार्ता तथा मूल्यांकनपछि तीन जनाको नाम अन्तिम सूचीमा राखेको हो।

पूर्व उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले १३ महिनामै पदबाट राजीनामा दिएपछि उपकुलपति पद रिक्त भएको थियो। बरालको राजीनामा चैत २८ गते स्वीकृत भएपछि वैशाख २ गते शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो। नियमानुसार, उपकुलपति रिक्त भएमा तीन महिनासम्म निमित्त उपकुलपति तोक्न सकिने व्यवस्था छ।

सरकारले अब सिफारिस प्राप्त गरेपछि चाँडै नयाँ उपकुलपति नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको शैक्षिक, प्रशासनिक र नीतिगत नेतृत्व गर्ने उपकुलपति पद लामो समय रिक्त रहँदा विश्वविद्यालयको नियमित कार्यसम्पादनमा असर परेको भन्दै चाँडो नियुक्तिको माग भइरहेकै बेला यो प्रक्रिया अघि बढाइएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्