काठमाडाैँ – मेलम्ची खानेपानी उपत्यका संघर्ष समितिले पृथ्वी जयन्तीको अवसर पारी बार्षिक एकता कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमा मेलम्ची खानेपानी आयोजना सञ्चालनमा सरकारले गरेको ढिलासुस्तीको चर्को आलोचना भएको छ ।
शनिवार कोटेश्वर महादेवस्थानमा आयोजना गरिएको कार्यक्रममा संघर्ष समितिले खानेपानीको लागि सरकार विरुद्ध चालेका कदमहरुबारे प्रष्ट पारेको थियो । कार्यक्रममा बोल्दै नेपाल व्यापार संघका अध्यक्ष तथा नेपाल राष्ट्रिय व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष साथै सृजना विकास समुहका अध्यक्ष समेत रहेका मेलम्ची खानेपानी उपत्यका संघर्ष समितिका सदस्य हरि गौतमले सरकारलाइ ठाडो चुनौती दिनुभयो । उहाँले भन्नुभयो “सरकार मेलम्ची खानेपानीको मुहान बन्द गर्दाखेरी रित्तो गाग्री लिएर तीनकुनेमा जनता उर्लेको स्मरण नै होला तसर्थ अझैपनि खानेपानी विस्तारमा लापरवाही तथा पेप्सीकोला छाप्रो क्षेत्रमा पानी नदिने हो भने फेरी रित्ता गाग्री लिएर सरकार विरुद्ध उत्रिन नपरोस् । ” साथै उहाँले मेलम्ची खानेपानी उपत्यका संघर्ष समिति जिउदो समिति भएकाले चानचुने नसम्झिन चेतावनी दिनुभयो । बोतलको पानी, जारको पानी अनि ट्यांकरको पानी बजार बृद्धि गर्न होइन कि छिटो भन्दा छिटो आम काठमाडाैँ बासिलाइ मेलम्चीको पानी खुवाउनमा जोड दिन आग्रह गर्नुभयो । उहाँले मेलम्ची खानेपानी आयोजनामा सरकारलाइ घच्घच्याउन मुहान सम्म जोखिमपूर्ण यात्रा गर्दै संघर्ष समितिको टोली पुगेको समेत स्मरण गराउनुभयो ।
कार्यक्रममा बोल्दै संघर्ष समितिका अध्यक्ष गोविन्दराज पन्तले संघर्ष समितिको यात्रा नटुङ्गिएकोले अझै पनि सरकारले ढिलासुस्ती अनि लापरवाही गर्छ भने जुनसुकै बेलापनि संघर्क्ष समिति सडकमा उत्रिन बाध्य हुने चेतावनी दिनुभयो । साथै उहाँले मेलम्ची खानेपानी सबै काठमाडाैँबासीलाइ समयमै विवरण गरि सहज गर्न समेत आग्रह गर्नुभयो ।
यस्तै कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुनिल केसीले समेत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भ्रष्ट्राचारविरुद्ध सबैले एकजुट भएर लाग्नुपर्ने भएको बताउभयो । साथै उहाँले सरकारले आयोजना सुरु गरि अलपत्र पार्ने तथा ढिलासुस्ती गर्ने गरेको आलोचना समेत गर्नुभयो । कार्यक्रममा करिब एक हजार बढीको सहभागिता रहेको थियो ।