खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै जमिन बाँझो नराख्न कृषि मन्त्रालयको आग्रह

काठमाडौं – कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जमिन बाँझो नराख्न मन्त्रालयले पुनः आग्रह गरेको छ । मन्त्रालयले कृषि सामाग्री बिक्रीवितरण गर्ने पसल बन्द नगर्न पनि आग्रह गरेको छ । लम्बिँदै गएको लकडाउनले विश्वबजारमा नै खाद्य संकट हुन सक्ने र नेपालमा पनि अन्तर्राष्ट्रिय आपूर्ति व्यवस्थाले खाद्य असुरक्षाको अवस्था आउनसक्ने भन्दै मन्त्रालयले कृषक, उद्योगी, स्थानीय तह र स्थानीय प्रशासनहरूलाई सहजीकरण बढाउन अनुरोध गरेको छ ।

मन्त्रालयले जारी गरेको १० बुँदे निर्देशनमा सामाजिक दुरी कायम गर्दै कृषि र यससँग सम्बन्धित सबै कर्म नियमित राख्न गर्न कृषकलाई आह्वान गरिएको छ । ‘मौसमी खेती, अन्नबाली भित्र्याउने र तिनको भण्डारण तथा बजारीकरणका लागि सबै उपाय अपनाएर काम गर्नू,’ निर्देशनमा भनिएको छ ।

मन्त्रालयले कृषि र पशुपालन लगायतका कर्मसँग सम्बन्धित दाना, बिउ, मलखाद जस्ता वस्तु र कृषि उपजको ढुवानी तथा बजारीकरण निरन्तर गर्न तथा यसमा कुनै अवरोध सिर्जना नगर्न पनि स्थानीय प्रशासनलाई मन्त्रालयले भनेको छ । कृषि उपज, कृषि सामाग्री तथा माछामासु बिक्री गर्ने पसल खोल्ने व्यवस्था मिलाउने पनि मन्त्रालयले सबै स्थानीय तह र प्रशासनलाई आग्रह गरेको छ ।

कृषकलाई सहजीकरण गर्नको लागि मन्त्रालयका सबै अंगहरू क्रियाशील रहेको जनाउँदै मन्त्रालयको आवश्यक सूचना र सहयोगका लागि अधिकारीहरूसँग सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्