सचिवालय बैठक बस्न केहि घण्टा अगाडि प्रधानमन्त्री ओली आफु निकटका सांसदहरुसँग छलफलमा, आजको सचिवालय बैठक महत्वपुर्ण हुने आँकलन

काठमाडौँ – आज सचिवालय बैठक बस्नु पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका सांसदहरूसँगको छलफल तिव्र बनाएका छन् ।

अहिले पनि प्रधानमन्त्री निवास बालुवाटारमा सांसदहरूसँग छलफल हुन लागेको प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

यसअघि प्रधानमन्त्रीले सोमबार र मंगलबार पनि सांसदहरूसँग कुराकानी गरेका थिए । सोमबार सांसदहरू महेश बस्नेत, निरुदेवी पाल, विजय सुब्बालगायतलाई भेटेका प्रधानमन्त्री ओलीले मंगलबार खगराज अधिकारी, सूर्य पाठकलगायतलाई भेटेका थिए । प्रधानमन्त्रीले पार्टी्भित्र जस्तोसुकै अवस्था पनि आउन सक्ने भएकाले त्यसका लागि तयार रहन उनले बालुवाटार आएका सांसदहरूलाई भनेको स्रोतको दाबी छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका स्थायी कमिटी सदस्यहरूले स्थायी समिति बैठक बोलाउन माग गरेपछि प्रधानमन्त्री ओली दबाबमा परेका छन् ।

नेकपामा चुलिएको विवादबारे छलफल गर्न आज साँझ सचिवालय बैठक बस्दैछ । बैठक साँझ पाँच बजेका लागि बालुवाटारमा बोलाइएको छ ।

सचिवालय बैठक बस्नुअघि नेताहरूले आफूनिकटहरू सँग विभिन्न तहमा संवादलाई तीव्रता दिएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्