नयाँ पुस्ताले मनमोहनको सादगीबाट पाठ सिक्नुपर्छ- ईश्वर पोखरेल

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारी कम्युनिष्ट आन्दोलनको सादगी र कहिल्यै विवादमा नपरेको नेता भएको बताएका छन् । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २५ औँ स्मृति दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार सानेपा ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले नयाँ पुस्ताले उनको सादगीबाट पाठ सिक्नु पर्ने बताए । उनले  सधैँभरि आफूलाई असल मान्छेको रूपमा सबैले चिनिदिउन् भन्ने मान्यता राख्ने नेता भएको पोखरेलले स्मरण गरे । उनी सादगीको पर्याय भएको पोखरेलले बताए ।

नेपाको कम्युनिष्ट पार्टी भन्दा पनि जेठा कम्युनिष्टको रूपमा मनमोहन अधिकारीलाई चिनिने उनले बताए । अधिकारीले भारतीय कम्युनिष्ट पार्टीमा आबद्ध भएर भारतीय स्वतन्त्रता सङ्ग्राममा समेत योगदान गरेको पोखरेलले स्मरण गरे । ‘उहाँलाई कम्युनिष्ट आन्दोलनको निरन्तरताको पर्यायको रूपमा पनि हामीले बुझ्नु पर्छ, मनमोहन अधिकारीलाई हामीले सम्झिरहँदा उहाँलाई आन्दोलनको निरन्तरताको रूपमा बुझ्ने गर्दछौँ’, पोखरेलले भने ।

मनमोहनले नेपाललाई बलियो राष्ट्रिय शक्तिको रूपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्ने गरेको उनले स्मरण गरे । नेपालको भूराजनीतिक संवेदनशीलता उनी अत्यन्त रहेको पनि पोखरेलले स्मरण गरे ।  उनले देखाएको सो बाटोमा अघि बढ्नु आजको आवश्यकता रहेको उनले बताए ।

मनमोहन अधिकारीको कृषि र सामाजिक सुरक्षाको क्षेत्रमा विशेष लगाव रहेको पोखरेलले स्मरण गरे । त्यसैको स्मरणमा मनमोहन स्मृति प्रतिष्ठानको ती क्षेत्रमा काम गरिरहेको उनले स्पष्ट पारे । अधिकारीले सुरु गरेको सामाजिक सुरक्षा भत्ताको कार्यक्रम दक्षिण एसियाकै नयाँ र नमुना कार्यक्रम भएको उनले बताए । मनमोहन अधिकारी जुन विचार बोकेर अघि बढ्नु भएको थियो त्यो विचारलाई मनमोहन स्मृति प्रतिष्ठानले निरन्तर बोकेर हिँड्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्