कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । जसका लागि दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को ३ अनुसार बनेको सरकारले विश्वासको मत पाउने सम्भावना छैन । किनकि विगतमा एमालेसँगै गठबन्धनमा रहेको राप्रपा सरकारमा छैन ।

कांग्रेस–माओवादीसहित बहुमत सदस्य रहेको गठबन्धन मुख्यमन्त्री कार्कीको विपक्षमा छ । वर्तमान सरकारले विश्वासको मत नपाए धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि आहृवान हुनेछ ।

कांग्रेस नेतृत्वको प्रतिपक्षी गठबन्धन पनि उपधारा ५ अनुसार सरकार गठनको गृहकार्यमा जुटेको छ । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सभामुखविहीन भएको प्रदेशमा एमालेसँग कार्यबहाक सभामुख बाहेक ३९ जना सांसद छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक गरी बहुमत संख्या प्रतिपक्षमा छ । ६ सांसद रहेको राप्रपा तटस्थ देखिएको छ ।

राप्रपा सहभागी भए कांग्रेस नेतृत्वको गठबन्धनसँग ५३ मत पुग्नेछ । उपधारा ५ अनुसार गठन हुने सरकारले विश्वासको मत नपाए ६ महिनाभित्र मध्यवधि निर्वाचन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्