काठमाडौं महानगर र अभियन्ता ई:का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ – काठमाडौं महानगर र अभियन्ता ई: का प्रतिनिधिबीचको वार्ता निष्कर्षविहीन भएको छ। महानगरले बनाएको वार्ता टोली र ई:का प्रतिनिधिबीच मंगलबार दिउँसोदेखि राष्ट्रिय सभा गृहमा वार्ता भएको थियो। मंगलबार रातिसम्म चल्दा पनि दुई पक्षबीचको वार्ता निष्कर्षविहीन भएको छ।

वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जनलगायत टोली र ई:का तर्फबाट प्रतिनिधि गोविन्द नारायणलगायत सहभागी थिए। महानगरले सडक व्यवसायीलाई व्यापार गर्न दिने समय र स्थान पहिचान गर्न पहल गर्ने प्रस्ताव गरेको बताएको छ। यसबारे ईःका प्रतिनिधि र व्यवसायीहरूबीच थुप्रै पटक वार्ता भयो। तर व्यवसायीहरूले सहमति जनाएनन्। व्यवसायीहरूले पहिले आफूले व्यापार गरिरहेकै ठाउँमा व्यापार गर्न पाउनुपर्ने माग राखेका छन्। महानगरले उनीहरूको यो माग सम्बोधन गर्न नसक्ने भनेको छ।

मंगलबारको वार्ता निष्कर्षविहीन भएपछि अभियन्ता ईःले आफूले व्यवसायीहरूको पीडा बोलेको र महानगरले व्यवसायीहरूको माग सम्बोधन गरी उनीहरूको चित्त बुझाउनुपर्ने बताएका छन्। उनी र व्यवसायीहरू राष्ट्रिय सभा गृहबाहिरै छन्। लामो समयसम्म उभिएका कारण ईःको स्वास्थ्यमा कठिनाइ आएको छ। तर उनले आफ्नो आन्दोलन बुधबार साँझसम्म जारी रहने सेतोपाटीलाई बताए। उनले तोकेको १९९ घन्टा बुधबार साँझसम्म पूरा हुनेछ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी बाचापत्र सम्झाउन ईः ‘सौम्य विद्रोह’ थालेका हुन्। उनी विगत आठ दिनदेखि उभिएका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले स्थानीय तहको चुनावअघि फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्ने भनेर गरेको वाचा पूरा गर्नुपर्नेलगायत माग ई:ले राखेका छन्। महानगर प्रहरीले फुटपाथ व्यवसायीमाथि गरेको दुर्व्यवहार अन्त्य गर्नुपर्ने माग पनि ई:ले गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्