सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको हो ।

यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवार बसाइँ सराई गरी गएको काठमाडौँको एक स्थानीय तहबाट बसाइसराई गर्दा पेस गरिएको कागजात माग गरेको थियो ।

आमाको उमेरमा विवाद देखिएपछि त्यसलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । यही मुद्दाको कारण चीनमा भइरहेको एसिया खेलकुदका लागि नेपाल टिममा परे पनि उनी चीन जाने विषय टुङ्गो लाग्न सकेको छैन ।

२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसीमा चढिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्