आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरूवात

काठमाडौँ – नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा विजयी सुरुवात गरेको छ। बिहीबार घरेलु टिम मलेसियामाथि ५ रनको जित निकाल्यो। नेपालले दिएको ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ९ विकेटको क्षतिमा ७९ रन मात्र जोड्न सक्यो।

मलेसियका लागि अइना हमिजाहले १४ रन र दुराइसिंहमले २८ रनको योगदान गरे।  कुनै बेला बलियो स्थितिमा रहेको मलेसियाले १७ ओभरको तेस्रो र चौथो बलमा लगातार दुई विकेट गुमाउदा खेल नेपालको पक्षमा गएको थियो। सो ओभरमा सीता रानामगरले मीरा स्माइललाई रनआउट गर्दा अर्को बलमा कविता जोशीले दुराइसिंहमलाई आउट गरेकी थिइन्।  बलिङमा नेपालकी कविता जोशीले २ ओभरमा ५ रन खर्चिदा २ विकेट लिइन्। यस्तै कविता कुँवरले २ विकेट लिँदा १० रन दिइन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा ८४ रन मात्र जोड्यो। नेपालका लागि सीता राना मगरले ३८ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन्। यस्तै अप्सरी बेगमले १७ रनको योगदान गरिन्। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।  बलिङमा मलेसियाकी अइना हमिजाहले २ विकेट लिइन्। अब नेपालले दोस्रो खेलमा भोलि बहराइनसँग खेल्नेछ।

मलेसियामा सुरु प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्। नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्। समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्। विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्