ललिता निवास प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौँ – बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालयमा रहेका घमानकुमार कार्की पक्राउ परेका हुन्। यसअघि सिआइबीले चार जनालाई पक्राउ गरिसकेको थियो। भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम र पूर्वकर्मचारी गोपाल कार्की अहिले प्रहरी हिरासतमा छन्। उनीहरूलाई प्रहरीले गत मंगलबार पक्राउ गरेको थियो।

उनीहरूसँगै प्रहरीले मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई पनि पक्राउ गरेको थियो। उनीहरूले पहिल्यै स्टे अर्डर लिइसकेकाले सिआइबीले त्यही दिन छाड्न परेको हो। सिआइबीले लामो अनुसन्धान सकेर २०७८ साल पुसमै सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नू भनेर पुस २२ गते प्रतिवेदन फिर्ता पठाएको थियो। प्रतिवेदन फिर्ता पठाएपछि अहिले सिआइबीले पुन: अनुसन्धान गरी यसमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो। अहिले पक्राउ पर्नेको संख्या ७ जना छन्।

सिआइबीले ललिता निवासको १४३ रोपनी जग्गा हडपेको निष्कर्श निकालेको छ। अहिले प्रहरीले सरकारी जग्गा कीर्ते कसुरमा अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्