अहिले चर्को बोल्नेहरुले नै सट्टापट्टाको निर्णय गराएका छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीच राम्रो विश्वासको वातावरण बनाएर मात्र कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद हल गर्न सकिने बताएका छन् । प्रधानमन्त्री दाहालले सीमाको विवाद सामाधान गर्न आफ्नो भारत भ्रमणले विश्वासको वातावरण बनाएको  दाबी गरेका छन् ।

बुधबार राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले भारतीय पक्षसँग भएको औपचारिक कुराकानीका क्रममा जमिन सट्टापट्टाबारे कुरा नगरेको बताए । उनले अघि भने, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो, यो समस्या छिटो हल गर्नुपर्छ मात्र भनेको हो ।’

भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता भएको भोलिपल्ट नेपाली पत्रकारहरुसँग कुरा गर्दा भने नेपालकै बुद्धिजिवीहरुले भनेका छन् भन्ने सन्दर्भमा मात्र बोलेको उनले बताए । सरकारले समय–समयमा गराएको अध्ययनमा पनि जटिल भयो भने सट्टापट्टा पनि गर्न सकिन्छ भनेको भेटिने उनको दाबी छ । आफूले भने राष्ट्रिय हित प्रतिकूल कुनै पनि काम नगरेको दाबी गरे । उनले भारत भ्रमणमा केही नै भएन भन्ने टिप्पणी भएको भन्दै उनले असन्तुष्टि जनाए । ‘केही नि भएन भन्ने साथीहरु, हिजो सरकारको नेतृत्व उहाँहरुको दल पनि गरेकै थियो । अरु थुप्रै प्रधानमन्त्री हुनुहुन्थ्यो, उहाँहरुले के चाहिँ गर्नु भएको थियो ? भएको थियो र केही ?’, उनले भने, ‘उत्पात भयो भन्ने मेरो दाबी होइन, तर एउटा नयाँ सुरुवात भयो ।’

पहिलो पटक दुई जना प्रधानमन्त्रीले दुनियाँका अगाडि ‘सीमा समस्या हल गर्छौं’ भनेर प्रतिवद्धता जनाउनु ऐतिहासिक भएको उनले बताए । राम्रो विश्वासको वातावरण बनाएर मात्र लिपुलेक कालापानीको समस्या हल हुने भन्दै उनले अघि भने, ‘एकले अर्कालाई पोलिटिक्स मात्र गरिराखेर यो त बल्झिने मात्र हो, कचिंगल हुने मात्र हो ।’

अहिले बलियो राष्ट्रिय एकता प्रदर्शन गर्दै भएका सहमति ठीक ढंगले कार्यान्वयन होस्, हुन बाँकी पनि छिटो होस् भन्दा मात्र नेपाल बलियो हुने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्