एमालेमा ७० वर्षे हटाउन विष्णु पौडेलको प्रस्ताव, ओलीले गरे अनुमोदन

काठमाडौं – नेकपा एमालेले ७० वर्षे उमेर हद सम्बन्धी व्यवस्था हटाएको छ । गत १९ जेठमा केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ७० वर्षे उमेर हद कायम नरहने निर्णय गरेको हो । ‘तत्काललाई यो व्यवस्था खारेज भएको छ । यसलाई आवश्यकतामा आधारित निर्णय भनिएको छ’, एक पदाधिकारी भन्छन् । उनका अनुसार, अहिले पार्टीलाई गतिशील बनाउन पनि यो व्यवस्था हटाइएको हो ।

७० वर्षे उमेर हद हटाउनुपर्ने प्रस्ताव उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेका थिए । थप १३ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव बैठकमा आएपछि पौडेलले उमेर हदको प्रश्न उठाएको बैठकमा सहभागी अर्का पदाधिकारीले बताए । ‘अहिले मनोनित गर्ने भनिएका मध्ये मुकुन्द कमरेडको उमेर ७० वर्ष कटिसकेको छ, हाम्रो विधानले उहाँहरुलाई केन्द्रीय सदस्य मनोनित गर्न मिल्दैन’ पौडेलले सुझाव पनि सँगै दिएका थिए, ‘विधानको यो व्यवस्थालाई केही गर्ने कि ?’

नेताहरु महाधिवेशनको निर्णय बैठकले काट्न नसक्ने भएकाले तत्काललाई निलम्बन गर्ने विकल्प अपनाइएको बताउँछन् । ‘निर्णय गर्ने त महाधिवेशनले हो, तर अहिलेलाई निलम्बन गरेर जाऔं भन्ने हो’, एक नेता भन्छन् । एमालेले २०६५ सालको आठौं महाधिवेशनले पार्टीमा ७० वर्षे उमेर हदको व्यवस्था गर्ने निर्णय गरेको थियो । यो व्यवस्था व्यवहारतः २०५९ सालको सातौं महाधिवेशनबाटै सुरु भइसकेको थियो ।

त्यसबेला घनश्याम भूसाल, योगेश भट्टराई, अरुण नेपाल, ठाकुर गैरे, विजय पौडेल, प्रकाश ज्वाला जस्ता युवा नेताहरुले उमेर हदको व्यवस्था पार्टीमा हुनुपर्ने प्रस्ताव ल्याएका थिए । तर सातौं महाधिवेशनबाटै यो व्यवस्था कार्यान्वयन गर्दा साहना प्रधान केन्द्रीय कमिटीमा नसमेटिने देखिएपछि औपचारिक निर्णय गरेको थिएन ।

आठौं महाधिवेशनबाट यो व्यवस्था पार्टीमा लागू हुँदा भरतमोहन अधिकारी, सिद्धिलाल सिंह लगायत उमेरकै कारणले बिदाइ भए । भृकुटीमण्डपमा सम्पन्न महाधिवेशनको हलबाटै अधिकारी र सिंहलाई बिदाइ गरिएको थियो ।

२०७८ को चितवन महाधिवेशनबाट एमालेका संस्थापक मध्येका अमृत बोहोराले उमेरकै कारण बिदा लिए । यो महाधिवेशनमा केपी ओलीका निम्ति भने ७० वर्षे उमेर हदको व्याख्या गरिएको थियो । ‘७० वर्ष पूरा नभएकाले कमिटीमा रहन पाउने’ व्याख्याले ओलीलाई अध्यक्ष दोहोरिन बाटो खुलेको थियो । यदि ७० वर्षे मात्रै राखेको भए ओली अध्यक्ष हुने थिएनन् ।

२०७७ फागुनमै ७०औं जन्मदिन मनाएका ओलीले ७० वर्ष पार नगरेको भन्ने प्रावधानकै कारणले २०७८ मंसिरको दशौं महाधिवेशनबाट अध्यक्ष दोहोरिन पाएका थिए । स्थायी कमिटीले निलम्बन गरेको उमेर हदको व्यवस्था विधान महाधिवेशनले खारेज गरेमा ओलीलाई पनि तेस्रो कार्यकाल अध्यक्ष बन्ने बाटो खुल्नेछ । यसको लाभ वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्