नेशनल प्याब्सनकाे आयोजनामा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिको आयोजना तथा काठमाडौ महानगर कमिटीको संयोजनमा तेस्रो काठमाडौँ जिल्लाव्यापी हाजरीजवाफ प्रतियोगिता हुने भएको छ । आइतबार युनिभर्सल सेकेण्डरी स्कुल धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिता जेठ २५ गतेदेखि जेठ २७ गतेसम्म आयोजना गर्न लागेको जानकारी दिएको हो । नेशनल प्याब्सनका महानगर कमिटी अध्यक्ष भीष्म पाण्डेको सभापतित्व तथा नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिका अध्यक्ष खड्क बहादुर बस्नेतको प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा प्रथम, द्धितीय, तृतीय तथा चाैथाे हुने स्कुललाई क्रमश नगद रु १५ हजार, १० हजार, ७ हजार ५ सय र पाँच हजार सहित ट्रफि, मेडल सहित प्रमाण पत्र दिने घोषणा गरेको हो । यस्तै हाजरीजवाफ प्रतियोगिता युनिभर्सल सेकेण्डरी स्कुल धुम्बाराहीमा हुनेछ भने जम्मा ९० टीमको सहभागिता हुने अपेक्षा गरिएको थियो । जसमा ७८ सहभागी स्कुल टीमले नाम दर्ता गराएका छन् । यसैगरी ७८ स्कुललाई टाइ सिट समेत वितरण गरिएको छ । क्वीज मास्टरको रुपमा रञ्जित गुप्ता र निलु खातुन रहनेछन् ।

प्रतियोगितामा सहभागी स्कुलले तीन जना विद्यार्थी सहभागी गराउन पाउनेछ । जसमा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी रहनेछन् । समुहमा एक जना छात्र वा छात्रा अनिवार्य समेत गरिएको छ । सहभागी हुने विद्यालयका लागि टीम दर्ता गर्ने समय जेठ १९ गते साँझ ५ बजेसममका लागि तोकिएको थियो ।

पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेशनल प्याब्सनका अध्यक्ष बस्नेतले हरेक बर्ष झै यस बर्ष पनि कार्यक्रम आयोजना गरेकोले विद्यार्थीको अन्तर्निहित प्रतिभाको प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यो कार्यक्रम विद्यार्थीको प्रतिष्पर्धाका लागि भन्दा पनि पढाइप्रति ध्यान दिने र मेहनत गर्ने बानीको विकास गर्ने लक्ष्यका साथ आयोजना गरिएकाे समेत अध्यक्ष बस्नेतले बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला समितिका उपाध्यक्ष विजय कुमार खरेलले काठमाडौमा रहेको एक हजार १४७ विद्यालयमध्ये ७८ विद्यालय सहभागी हुन पाउनु विद्यालयका लागि समेत अवसर भएको बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिका सचिव तथा भीमेश्वर स्कुलका संस्थापक अमृत कुमार खड्का, यसैगरी नेशनल प्याब्सन काठमाडौ जिल्ला समितिका कोषाध्यक्ष तथा अर्किड स्कुलका निर्देशक प्रेम कुमार भुजेल लगायत अन्य प्रतिनिधिको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्