संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै

काठमाडौँ – संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ ।

बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको छ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदन संसदमा प्रस्तुत गर्नेछन् । मस्यौदा प्रतिवेदनमाथि आएका संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि नियमावली पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

आज दिउँसो प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ। आइतबार दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ। प्रतिनिधि सभाले शनिबार नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसकेको छ।सरकारले बजेटको तयारी पनि गरिरहेको छ। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

यसैबीच राष्ट्रिय सभा बैठक पनि बस्दैछ । राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्