जलहरीमा जालझेल : सुशासनवादी दलहरूको परीक्षा, राप्रपा, रास्वपा र जनमतले सहकार्य गर्नुपर्छ : महामन्त्री पाठक

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री शरदराज पाठकले पशुपतीको जलहरीको विषयमा सुशासनवादी दलहरुको परीक्षा भएको बताएका छन् ।
उनले ठूला तीन दलको अपारदर्शी र शंकास्पद सहमतिमा यो देशका आम नागरिकको सहमति नमिसिएको जीकिर समेत गरेका छन् । उनले जनताको सहमती भ्रष्टाचारमा नमिसिने पनि दाबी गरे । ‘ठूला तीन दलको अपारदर्शी र शंकास्पद सहमतिमा यो देशका आम नागरिकको सहमति मिसिएको छैन, मिसिने छैन ।’ महामन्त्री पाठकले भने ।‘पशुपतिनाथमा जलहरी बनाएर बाँकी रहेको झण्डै ११ किलो सुन रिङ्ग बनाउँदा प्रयोग गर्ने भनिएता पनि ७ करोड ८६ लाख रूपैया मूल्यको सबै सुन प्रयोग भएको पुष्टि हुन सकेको छैन भनी महालेखा परीक्षकको प्रतिवेदनले नै प्रश्न उठाएको छ ।’

सदनमा पुनः उठेको गम्भीर प्रश्नबारे सदनभित्रका सबै दलको उपस्थितिमा छलफल हुनेपर्ने भएपनि बालुवाटारका गोप्य कोठामा भएको छलफलले थप शंका उब्जाएको नेता पाठकको भनाई छ ।

‘सदनमा पुनः उठेको गम्भीर प्रश्नबारे सदनभित्रका सबै दलको उपस्थितिमा छलफल गरिनुपर्थ्यो’ उनले भने, ‘तर बालुवाटारको कोठामा गोप्य छलफल गरेर काण्डै काण्डका नायकहरूले जलहरीसहित सबै भ्रष्टाचार/सम्भावित भ्रष्टाचार काण्डबारे प्याकेजमा सहमति खोजे होलान् भन्ने आशंका गर्ने प्रशस्त आधार छ ।’

सुशासनवादी दलहरु राप्रपा, रास्वपा र जनमत पार्टीले तत्कालका लागि यो विषय र भ्रष्टाचारका अन्य मुद्दालाई यत्तिकै थामथुम हुन नदिन भुमिका खेल्नुपर्ने उनको भनाई छ । ‘सुशासनवादी राप्रपा, रास्वपा र जनमत पार्टीले तत्कालका लागि यो विषय र भ्रष्टाचारका अन्य मुद्दालाई यत्तिकै थामथुम हुन दिन हुँदैन ।’ पाठकले भने, ‘यी दलको पनि परिक्षाको विषय हो यो । यी ठूला ३ दलले “संवाद, सहकार्य र एकता“ को नाममा पछिल्ला २ दशकमा मच्चाएको नग्न लुट रोक्नु कठिन कार्य हो ।’
सुशासनलाई साझा आधार बनाएर राप्रपा, रास्वपा र जनमत पार्टी तीन दलले अब पारदर्शी र परिणाममुखी सहकार्य गर्नुपर्ने नेता पाठकको भनाई छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्