कर्नाटकामा ३४ वर्षपछि कंग्रेस आईलाई पूर्ण बहुमत, भाजपाको सत्ता बहिर्गमन

काठमाडौँ – कर्नाटका विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो। कर्नाटका विधानसभामा २२४ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ। १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ।

टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कंग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो। यहाँ अघिल्लो निर्वाचनमा १०४ सिट जितेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) यसपालि ६५ सिटमा खुम्चिन पुगेको छ।अबको पाँच वर्ष भाजपा सरकारबाहिर रहनेछ।

भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार भनेका छन्। लगातार दुई कार्यकाल सत्ता चलाइरहेका मोदीलाई कर्नाटकाको चुनावी परिणामले ठूलो धक्का लागेको छ। कर्नाटकामा भाजपा पराजय हुनुको सम्पूर्ण जिम्मेवारी लिँदै मुख्यमन्त्री बासवराज बोम्माईले राजीनामा दिएका छन्। यहाँ जेडिएसले १९ र अन्य दलले ४ सिट जितेको छ।

कंग्रेसले बहुमत ल्याएपछि अब त्यहाँको मुख्यमन्त्री को बन्ने भन्ने विषय पेचिलो बन्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। त्यहाँ प्रदेश अध्यक्ष डीके शिवकुमार र पूर्वमुख्यमन्त्री सिद्धारमैयाले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।

मुख्यमन्त्रीको विषयमा छलफल गर्न कंग्रेसले आज बैठक बोलाएको छ। कर्नाटकामा बुधबार विधानसभाको निर्वाचन सम्पन्न भएको थियो। निर्वाचनम ७३.१९ प्रतिशत मत खसेको थियो। यसलाई अहिलेसम्मकै रेकर्ड भनिएको छ। कर्नाटकाको सत्तामा पुनरागमन हुनुको महत्व कंग्रेसका लागि त्यो राज्यमा मात्र सीमित हुने छैन।

यही वर्ष छत्तीसगढ, मध्यप्रदेश, मिजोरम, राजस्थान र तेलंगनामा विधान सभाको चुनाव हुँदैछ। छत्तीसगढ र राजस्थानमा कंग्रेसको सरकार छ। ती राज्यमा आफ्नो सरकार जोगाएर अन्त पनि बहुमत ल्याउन कंग्रेसलाई कर्नाटकाको जितले हौसला दिनेछ। त्योसँगै अर्को वर्ष हुने आम निर्वाचनका लागि पनि कर्नाटकाको चुनावले अर्थ राख्नेछ। कर्नाटकामा लोकसभाका २८ सिट छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्