साहित्यकार सरिता पराजुलीका २ कृति एकैसाथ विमोचन

काठमाडौँ – दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष काठमाडौँको आयोजनामा साहित्यकार सरिता पराजुलीको कवितासङ्ग्रह— प्रेमिल प्रतिध्वनि र नियात्रासङ्ग्रह— थेम्स किनार वरिपरि एक समारोहका बीच लोकार्पण गरिएको छ ।

समाजसेवी एवं इन्जिनियर कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा आयोजित लोकार्पण समारोहमा प्रमुख अतिथि डा. दामोदर पुडासैनी ‘किशोर’ अन्य विशिष्ट अतिथिहरू र लेखक स्वयंबाट उक्त दुवै कृतिहरू लोकार्पण गरिएको थियो ।

प्रमुख अतिथि डा. दामोदर पुडासैनी ‘किशोर’ ले सरिता पराजुलीको कवितासङ्ग्रह प्रेमिल प्रतिध्वनिमा प्रेमका बिम्बहरूका माध्यमबाट समाजका विकृति, विसंगति, प्राकृतिक सौन्दर्य र मानवीय सम्बन्धका पक्षमा निकै आकर्षक ढंगबाट अभिव्यक्ति दिएको कुरा बताउँनु भयो । उहाँले थेम्स किनार वरिपरि नियात्रा संग्रह पश्चिमी र पूर्वीय दर्शन, संस्कृति र भूगोल चिनाउने महत्वपूर्ण कृति हो भन्नु भयो ।

सो अवसरमा साहित्यकार कल्पना पराजुलीले स्वागत मन्तव्य राख्नु भएको थियो भने पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) मधु पुडासैनी र साहित्यकार राजेन्द्र पराजुलीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

साहित्यकारहरू उमेश पाण्डे, भवानी मैयाँ पन्थ, तारा के.सी. र रेणु अधिकारी ‘मौनता’ र राजेन्द्र घिमिरेले सरिता पराजुलीको प्रेमिल प्रतिध्वनि कवितासङ्ग्रहका केही कविताहरू वाचन गर्दै उक्त कृतिमाथि आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो ।

लेखक सरिता पराजुलीले कवितासङ्ग्रह र नियात्रा एकै पटक लोकार्पण गर्न पाएकोमा खुशीले गद्गद् भएको चर्चा गर्दै आगामी समयमा अरु विधामा समेत कृति प्रकाशित गर्ने जानकारी दिनुभयो ।

सभाध्यक्ष कृष्णाप्रसाद पराजुलीले सरिता पराजुलीका कवितासङ्ग्रह र नियात्रासङ्ग्रहको प्रकाशनले गौरबबोध भइरहेको धारणा व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रमको संयोजन समाजसेवी सञ्जिना पराजुलीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्