काँग्रेसले टुङ्ग्यायो मन्त्रीहरुको नाम, एनपी साउँद परराष्ट्रमन्त्री बन्दै

काठमाडौं – नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो । शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री पाउनुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले आफ्नो समूहका चार नेतालाई मात्र मन्त्री बनाएका थिए ।

अब उपसभापति धनराज गुरुङ, नेताहरु एनपी साउद, मोहन बस्नेत, डिगबहादुर लिम्बु र सुरेन्द्र आचार्य मन्त्री हुनेछन् । साउद र बस्नेत संस्थापन समूहका हुन् । साउद परराष्ट्र मन्त्री बन्ने सम्भावना छ भने बस्नेतले स्वास्थ्य तथा जनसंख्या मन्त्री दाबी गर्दै आएका छन् । डिगबहादुर लिम्बुलाई कानुन भनिएको छ, तर उनले यसमा रुचि देखाएका छैनन् ।

शेखर–गगन समूहले थप एउटा मन्त्री पाउँदा सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जाने थिए । स्रोतका अनुसार देउवाले ६/२ को भागबण्डा नगर्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सुरुमा केन्द्रीय सदस्य प्रदीप पौडेलका लागि लबिङ गरेका थिए । तर संसदीय दलको चुनावमा साथ नदिएका प्रदीपलाई मन्त्री बनाउन देउवा तयार भएनन् । त्यसपछि शेखर समूहबाट सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डेमध्ये एक जना मन्त्री हुने सम्भावना थियो । प्रत्यक्ष चुनाव जितेका कारण पाण्डेको सम्भावना रहेको नेताहरुले बताएका थिए ।

तर उनलाई रोकेर सुरेन्द्र आचार्य मन्त्री बन्ने पक्का जस्तै भएको नेताहरु बताउँछन् । एक नेताका अनुसार हाल महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका महेन्द्र राय यादवले अर्को मन्त्रालय मागेका कारण मन्त्रिपरिषद विस्तारमा ढिला भएको हो । ‘आज त सम्भव नहोला, भोलितिर होला’, एक नेता भन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्