उपेन्द्रलाई बारामा निर्वाचन लड्न बाटो खुल्यो

काठमाडौं – उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएसँगै उपेन्द्र यादवलाई निर्वाचन लड्न बाटो खुलेको छ ।

रामसहाय उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उहाँले जित्नु भएको प्रतिनिधि सभा तर्फको बारा क्षेत्र नम्बर २ खाली भएको छ । जसपाका अध्यक्ष समेत रहेका उपेन्द्रले आफू प्रतिनिधि सभामा उम्मेदवार बन्न नै रामसहायलाई उपराष्ट्रपतिमा उम्मेदवार बनाएको जसपाका एक नेताले बताए । उपेन्द्र गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरी –२ बाट जनमत पार्टीका सिके राउतसँग पराजित भएका थिए । जसका कारण यसपटक उपेन्द्रको संसद छिर्ने यात्रा अवरुद्ध भएको थियो । राउतको ३५ हजार ४२ मत आउँदा उपेन्द्रको १६ हजार ९७९ मत आएको थियो । उपेन्द्र पराजित भएपछि उनले संसद छिर्ने दाउ हेरिरहेका थिए ।  बारा–२ खाली भएपछि त्यहाँबाट निर्वाचन लडेर प्रतिनिधि सभामा छिर्ने उपेन्द्रको योजना छ ।

जसपाका ती नेताका अनुसार पार्टीले पनि उपेन्द्रलाई संसद प्रवेश गराउन खोजेको छ । गठबन्धनका नेताहरु पनि यसमा सकारात्मक रहेका छन् । तराई–मधेशमा राउत नेतृत्वको नयाँ पार्टी जनमतले पकड जमाउँदै गइरहेको अवस्थामा आफू कमजोर भइने होकि भन्ने आशंकाले उपेन्द्र मधेशमा विगतको आफ्नो वर्चश्व फर्काउने योजनामा छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्