युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल

काठमाडौं  – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिजको अन्तिम खेलमा बिहीबार नेपालले युएईको सामना गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । यो खेल तीन वर्ष लामो आईसीसी विश्वकप लिग टु क्रिकेटको अन्तिम खेल हो । सात देश सहभागि लिग टु क्रिकेटमा बिहीबारको खेल जिते नेपाल अंक तलिकाको चौथो स्थानबाट तेस्रो स्थानमा उक्लिनेछ । शीर्ष तीन टोलीले विश्वकप क्रिकेटको ग्लोबल छनौटमा सिधै स्थान बनाउने हुनाले नेपाललाई बिहीबारको खेल जित्नैपर्ने दबाबमा छ ।

बिहीबारको खेलमा पराजित भएको खण्डमा नेपालले प्ले अफ् चरण पार गरेपछि मात्रै विश्वकपको ग्लोबल क्वालिफयर खेल्न पाउनेछ । ग्लोबल क्वालिफायर यही जुन १८ देखि जुलाई ९ तारिखसम्म जिम्बाबेमा हुनेछ । १० टोली सहभागि हुने ग्लोबल क्वालिफायरबाट उत्कृष्ट दुई टोली एक दिवसिय विश्वकप क्रिकेटका लागि छनौट हुनेछन् । नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ । कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ ।

अमेरिका ३६ खेलमा ३५ अंकसहित हाल पाँचौ स्थानमा रहेको छ । युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ । स्कटल्यान्ड ५० अंकका साथ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्दै सोझै विश्वकप छनोटमा पुगेको छ भने ओमान ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ । पपुवा न्युगिनी ११ अंक जोड्दै पुछारमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्