पिएनजीविरुद्ध नेपालले टस जितेर पहिले बलिङ गर्ने

काठमाडौँ – आइसिसी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दैछ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गर्ने भएको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। आइतबार टिममा रहेका गुल्सन झाको स्थानमा करण केसी टिममा फर्किएका छन्।

नेपाली टिम : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, करण केसी र सन्दीप लामिछाने।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ। नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ।

नेपालसँगको हारसँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ।

नेपालले आइतबार युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग-२ बाटै जोगिएको छ।

लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ।

लिग-२ बाट एकदिवसीय मान्यता जोगाउने असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्