काठमाडौंसहित पहाडी भेगमा हल्का वर्षा, दिनभर मौसम कस्तो रहला ?

काठमाडौं – काठमाडौं उपत्यकासहित पहाडी भेगमा आज दिनभर बादल लागेर धुम्म हुने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा अहिले बिहान पानी परिरहेको छ । तर दिनभर झरी भने नपर्ने महाशाखाको अनुमान छ ।

वरिष्ठ मौसमविद बरुण पौडेलका अनुसार आज काठमाडौं, पाल्पा, कास्की लगायतका जिल्लाहरुमा हल्का वर्षा भइरहेको छ । कर्णाली प्रदेशको डोल्पा लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । आज दिउँसो केहीबेर पानी पर्न रोकिए पनि राम्रोसँग घाम नलाग्ने उनले बताए ।

अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ । साथै अरेबियन सागरबाट आएको जलवाष्पयुक्त वायु र स्थानीयस्तरमा विकसित भएको प्रणालीले पनि मौसममा बदली भएको हो । यसका कारण पहाडी भेगका धेरैजसो स्थानमा आज चट्याङसहित हल्का वर्षाको सम्भावना छ । तापक्रम पनि केही घटेर चिसो महसुस हुनेछ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार आज र भोलि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि बिहीबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा हुने र कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्