राष्ट्रपतिमा कसलाई सहयोग गर्ने भन्नेबारे माओवादीले औपचारिक निर्णय गर्ने

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिबारे केही दिनमै पार्टीको आधिकारिक धारणा सहित स्पष्ट पार्ने भएको छ ।

माओवादीका एक नेताले राष्ट्रपति निर्वाचनकाबारे भरिसक्य यसै साता नत्र फागुन १० को आसपास पार्टीको बैठक बसेर औपचारिक निर्णय गर्ने जानकारी दिए । उनले भने –‘केही दिन भित्रै पार्टीको स्थायी कमिटी बैठक बस्छ र त्यही बैठकले औपचारिक निर्णय गर्छ’ ।

माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस र एमालेका उम्मेदवार मध्ये कसलाई सहयोग गर्ने भन्ने औपचारिक निर्णय गर्न लागेको हो । माओवादीले सबैको सहमति हुने साझा उम्मेदवारलाई राष्ट्रपति बनाउनु पर्ने धारणा राख्दै आएको छ । उता नेकपा एमालेले भने राष्ट्रपतिमा एमाले उम्मेदवारलाई राष्ट्रपति बनाउने गरी माओवादीसँग सहमति भएको बताउँदै आएको छ । तर माओवादीले भने एमालेलाई राष्ट्रपति दिनेबारे लिखित रुपमा सहमति नभएको बताउँदै आएको छ । अभिभावकको रुपमा राष्ट्रपतिको गरिमा जुन रुपमा रहेको छ, त्यस अनुरुप राष्ट्रपतिको भूमिका पनि सबैप्रति समान हुनुपर्छ भन्ने मान्यता आफूहरुको रहेको तर विगतमा राष्ट्रपतिको भूमिका त्यस्तो नदेखिएको माओवादी नेताहरुको भनाई छ । गत पुस २६ मा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेस त्यसको गुन तिर्न माओवादीले कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवारलाई मत दिने विश्वासमा छ ।

२०७४ फागुन २९ मा दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ । राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुन्छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनले कार्यकाल सकिनुभन्दा एक महिना अघि नै दुवै पदका लागि चुनाव गर्नुपर्ने व्यवस्था गरेको भएपनि निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको छ । पद सकिनु एक महिना अघि भनेको गत माघ २९ गते हो । तर आयोगले राष्ट्रपतिको पद सकिनु ४ दिन अघि निर्वाचन गर्नेगरी मिति तय गरेको हो । आयोगले राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यसूची सार्वजनिक गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्