बागमतीमा २ फागुनबाट लाइसेन्स लिन ७० अंक ल्याए ट्रायल पास हुने, ७० अंक प्रणालीमा के छ ?

काठमाडौँ – बागमती प्रदेशमा पटकपटक रोकिँदै आएको सवारीचालक अनुमति-पत्र (लाइसेन्स) लिन ७० अंक ल्याए ट्रायल पास हुने अंकभार प्रणाली २ फागुनबाट लागू हुने भएको छ ।
१ फागुनबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाले २ गतेबाट लागू गर्ने भएको हो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले निर्देशन दिएपछि सवारीचालक अनुमति- पत्र (लाइसेन्स) लिन ७० अंक ल्याए पास हुने प्रणाली लागू हुने भएको हो ।

उनले प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठलाई ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने अनुमति दिएको बताएका छन् ।
यसअघिका यातायातमन्त्री घनश्याम दाहालले उक्त प्रणाली लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । मुख्यमन्त्री पाण्डेको हस्तक्षेपको कारण तीनपटकसम्म रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान सरकारका यातायातमन्त्री श्रेष्ठले लागू गर्ने बताउँदै आएका थिए ।

‘अन्य प्रदेशमा लागू भइसकेको यो प्रणाली बागमती प्रदेशमा पनि लागू हुन्छ । हामीले यो प्रणालीलाई यहि १ फागुनबाटै लागू गर्ने तयारी गरेका थियौँ, तर १ फागुनमा सार्वजनिक बिदा परेकोले २ गतेबाट लागू हुनेछ,’ मन्त्री श्रेष्ठले भने ।

ट्रायलका बेला हुने सामान्य त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाइ हुनुका साथै चालकहरूले अवैधानिक रूपमा लाइसेन्स निकाल्ने प्रचलन बढेको मन्त्री श्रेष्ठले बताए ।

उनले सवारी चलाउँदा हुने सामान्य गल्तीलाई सच्याउँदै लैजान सकिने भएकाले यो प्रणाली लागू गर्न खोजिएको बताए ।

‘सानो गल्तीमा पनि ट्रायल फेल गर्दा झन् बढी समस्या भएको छ । अवैधानिक रूपमा लाइसेन्स निकाल्ने, बिना लाइसेन्स सवारी चलाउनेजस्ता गतिविधि बढेको छ । यस्ता गविधिलाई रोक्न पनि हामीले ७० अंक ल्याए पास हुने प्रणालीलाई लागू गर्नैपर्नेछ,’ मन्त्री श्रेष्ठले नयाँ पत्रिकासँग भने ।

७० अंक प्रणालीमा के छ ?
ट्रायल पास हुन ७० अंक ल्याए पुग्ने प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार एक सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमति-पत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ ।

बागमती प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर पनि ट्रायल भने फेल भइँदैन ।

यस्तै, दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटकभन्दा धेरैपटक खुट्टाले भुईं टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था छ।

यसैगरी, साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् ।

ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । उकालो (र्याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।

यस्तै कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोए प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।

दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ ।

त्यसैगरी, यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रे सवारीचालकलाई र्याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ ।

तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्