बाबुले पेट्रोल छर्केर आगो लगाउँदा २ वर्षिया छोराको मृत्यु, श्रीमती घाईते

सांकेतिक तस्विर

काठमाडौं – बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् ।

स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर श्रीमती गंगा र छोरा प्रिन्सलाई पेट्रोल छर्किएर जलाएका थिए । त्यसपछि भारततर्फ भागेका उनलाई प्रहरीले गएराति साढे १ बजेतिर नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा आज बिहान ६ बजेर २० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । उनले भानुभक्तलाई भारतको नानपारा आसपासबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको पनि बताए ।

बच्चाको कम्मरभन्दा माथिको भाग जलेको थियो । श्रीमती गंगाको पनि घाँटी, हात, कान लगायतका भाग जलेको छ । प्रहरीका अनुसार गंगाको शरीरको करिब २० प्रतिशत भाग जलेको छ ।

घटनाबारे जानकारी पाएलगत्तै वडा अध्यक्ष हरि कठायत र उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाको एम्बुलेन्सबाट उनीहरुलाई सुरुमा नेपालगञ्ज मेडिकल कलेज पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नहुने भएपछि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्