राष्ट्रपति पदमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

काठमाडौँ – नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेसका केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको सोमबारको बैठकले राष्ट्रपति पदका लागि हुने निर्वाचनमा उम्मेदवारी दिने र आफ्नो उम्मेदवारको पक्षमा सहमति जुटाउन पहल गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट प्रधानमन्त्री र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सभामुख निर्वाचित भइसकेकाले राष्ट्रिय सहमति कायम गरी राष्ट्रपति पद कांग्रेसले लिनुपर्ने निर्णय गरेको हो ।

बैठकपछि सहमहामन्त्री किशोरसिंह राठौरले राजनीतिक जटिलतालाई पार लगाउन पार्टी एकढिक्का बनाएर जाने निर्णय भएको बताउनुभयो । साथै संसद्मा प्रमुख प्रतिपक्षी दलको दाबी गर्ने निर्णय पनि कांग्रेस पदाधिकारी बैठकले गरेको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने निष्कर्ष बैठकले निकालेको बताउनुभयो । उहाँले राष्ट्रपति चयनका लागि हुने निर्वाचन आगामी फागुन २९ गतेभन्दा पर सार्न नहुने बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्