सरकारमा जान माधव नेपाललाई बामदेवको सुझाव

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट नेता बामदेव गौतमले नयाँ सरकारमा सहभागी हुन सुझाव दिएका छन् ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष नेपालसहितका नेतालाई भेटेर राष्ट्रिय एकता अभियानका संयोजक गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

भेटपछि गौतमले भनेका छन्, ‘अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी केपी ओलीसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र सामेल भएको छ । एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ । नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ ।’

एकीकृत समाजवादीका अध्यक्ष नेपालले मंगलबार नै पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा आफूहरुलाई थाहा नै नदिइकन प्रचण्ड सरकारमा सहभागी भएको भन्दै उनको यो व्यवहारबाट दुःखी भएको गुनासो गरेका थिए । गौतमले भने यसमा प्रचण्डको गल्ती भएको भन्दै अब फूलमाला लगाएर माधव नेपाललाई सरकारमा लैजानुपर्ने बताए । ‘माधव नेपाल छुट्नु हुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर लैजानुपर्छ,’ उनको भनाइ छ ।  भेटमा सहभागी एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेका अनुसार नेपालले भने गौतमको सुझावमाथि प्रतिक्रिया दिएनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्