संसदीय दलको नेताका लागि उम्मेदवार छान्न शेखर-गगन समूहको भेला

काठमाडौं  –  नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक काठमाडौंमा बसेको छ।

संसदीय दलको नेता चयनका लागि कांग्रेस निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेसँगै आफ्नो समूहबाट उम्मेदवार चयन गर्न लैनचौरस्थित एक होटलमा नेता शेखर कोइराला पक्षको बैठक बसेको हो।

संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले निर्वाचनका बेलादेखि नै आफू उम्मेदवार भएको घोषणा गरेका थिए। तर नेता कोइराला पनि संसदीय दलको नेताका लागि इच्छुक रहेको बताइएको छ। तर शेखरले यसबारे औपचारिक बोलेका छैनन्।

१४ औं महाधिवेशनमा शेखर नेतृत्वको टिमबाट उम्मेदवार भई निर्वाचित भएका कांग्रेसका पदाधिकारी तथा केही केन्द्रीय सदस्य आजको भेलामा सहभागी छन्। उनीहरूले संस्थापनइतर समूहबाट जो उठे पनि एक जना मात्रै उम्मेदवार हुनुपर्ने दवाव दिइरहेका छन्।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले महामन्त्री गगन थापालाई संसदीय दल नेताका लागि प्रस्तावक बस्ने घोषणा गरिसकेका छन्। संस्थापन पक्षबाट पार्टी सभापति शेरबहादुर देउवाले नै संसदीय दलको नेताका लागि तयारी थालेका छन्।

नेता रामचन्द्र पौडेल पनि संसदीय दल नेता हुन इच्छुक भए पनि उनी अघि बढ्ने संकेत देखिएको छैन। पौडेलले सहमतिमै दल नेता चयन हुनुपर्ने बताएका थिए।  संस्थापनइतर समूहमा सहमति नभएमा नेता शेखर र महामन्त्री थापा दुवै जना संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सक्ने पनि चर्चा भइरहेको छ।

यसो भएमा पुस ६ गते बिहान हुने संसदीय दलको निर्वाचनमा तीन जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसमा प्रतिनिधि सभातर्फ ८९ जना सांसद छन्। निर्वाचित सांसदहरू अधिकांश सभापति देउवानिकट छन्।  तर मतदाताले परिवर्तन खोजेको चुनावको सन्देश रहेको भन्दै केही नेताहरूले संसदीय दलको नेता परिवर्तन गरिनुपर्ने तर्कसमेत गरिरहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्