दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुदैन, कुटनीतिक पहल गर्नुपर्छ : देउवा

काठमाडौँ – कांगेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले ओलीले दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा नआउने बताएका छन् ।
शनिबार डडेल्धुराको अजयमेरु गाउँपालिकाको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने –‘दार्चुला गएर भाषण गरेर लिम्पियाधुरा आउँछ ? कि लड्नुपर्यो । बन्दुक ल्याउनुहोला । होइन भने कुटनैतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो ।’ उनले थपे–, ‘भाषण त काठमाडौं बसेर भारत नै हाम्रो भनिदिनसक्छौँ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै षडयन्त्रपूर्ण ढंगले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाएर संसद विघटन गरिएको र त्यसका विरुद्धमा गठबन्धन बनेको पनि बताए । उनले भने, ‘षड्यन्त्रपूर्ण तरिकाले राष्ट्रपतिलाई मध्यराति २ बजे उठाए संसद विघटन गर्नुभयो । त्यसका विरुद्धमा गठबन्धन बनेको हो । त्यसैले चुनावपछि पनि गठबन्धन सरकार बन्छ ।’

सभालाई सम्बोधन गर्दै उनले माओवादी र कांग्रेस मिले सुदूरपश्चिमको विकास छिटो हुने दाबी गरे । प्रधानमन्त्री देउवाले भने, ‘खगराज भट्ट माओवादीको नेता हो । उहाँ र हाम्रो पार्टीका साथीहरू मिल्यो भने सुदूरपश्चिमको विकास हुन्छ । डडेल्धुराको सबैभन्दा बढी विकास हुन्छ । उहाँलाई शेरबहादुर देउवा भनेर भोट हालिदिनुहोला ।’

उनले आफु पाँचौपटक प्रधानमन्त्री भइसकेको र डडेल्धुराको विकासमा लागिरहेको बताउँदै केही काम गर्न भने बाँकी रहेको बताए । उनले भने– ‘डडेल्धुरामा मेडिकल कलेज भइसकेको छ । एयरपोर्ट बन्दै छ । म यहाँको सहयोगले म पाँच पटक प्रधानमन्त्री भइसकेको छु । यहाँको सहयोगले फेरि अगाडि बढ्नेछु । डडेल्धुरामा केही काम गर्न बाँकी छन् । त्यसलाई पूरा गर्ने छु । यहाँको सडक पिच गर्ने छु । विमानस्थल बनाउने छु । सबैलाई खानेपानी पुर्याउने विश्वास दिलाउँछु ।’

उनले ३६ सालदेखि आफू लगातार गाउँ आइरहेको बताउँदै योपटक गाउँ आउन पाउँदा शौभाग्यशाली ठानेको बताए । उनले भने, ‘यहाँ धेरै मेरा साथी भाइ पनि छ । यो ठाउँमा फेरि भेट्न पाउँदा आफूलाई शौभाग्यशाली ठान्छु । धेरै भन्नू केही छैन ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्