डडेल्धुरामा एमालेको समर्थनमा देउवासँग कर्ण मल्ल भिड्ने

काठमाडौं – नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी नदिने भएको छ । एमाले डडेलधुराले पूर्व प्रदेश मन्त्री पठानसिंह बोहोराको नाम एकल सिफारिस गरेको थियो ।

तर उनलाई पछि हटाएर नेपाली कांग्रेस (बीपी) का उम्मेदवार कर्ण मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको हो । योसँगै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २४ वर्ष साथ दिएका मल्लले उनीसँगै प्रतिस्पर्धा गर्ने भएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी कांग्रेस (बीपी) मा लागेका मल्लसँग गएको स्थानीय चुनावमा पनि एमालेले तालमेल गरेको थियो । त्यही तालमेललाई निरन्तरता दिँदै प्रतिनिधिसभामा मल्ललाई समर्थन गर्ने एमालेले निर्णय गरेको छ । प्रदेशसभातर्फ भने दुबै क्षेत्रमा एमालेले उम्मेदवारी दिने भएको छ । पठानसिंह बोहोरा र गजेन्द्र शाही एमालेबाट प्रदेश तर्फका उम्मेदवार हुनेछन् । गएको स्थानीय तह निर्वाचनमा एमालेले कांग्रेस बीपीसँग तालमेल गरेको थियो । ती दुई दलको तालमेलबाट कुनै पनि पालिकामा जित निकाल्न भने सकेनन् ।

स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाँच र माओवादी केन्द्रले दुई पालिका जितेका छन् । सदरमुकाम गमगढीमा एमालेको सहयोगमा कांग्रेस बीपीबाट उम्मेदवार बनेका हरि भट्ट १९२ मतले पराजित भएका थिए । देउवासँग मल्लको सम्बन्ध विग्रिएको कांग्रेसको १४ औं महाधिवेशन अघिबाटै हो । त्यसबेला डडेलधुरा कांग्रेस सभापति रहेका मल्लसँग क्रियाशील सदस्यताको विवाद संस्थापन पक्षसँग चुलिएको थियो ।

मल्ल पक्षले बहिष्कार गरेको जिल्ला अधिवेशनबाट देउवा पक्षका भीमबहादुर साउद जिल्ला सभापति चुनिएका थिए । विवाद बढ्दै गएपछि मल्ललाई अनुशासनको कारबाही गरी मल्ल पार्टीबाट हटाइएका थिए । पार्टीले कारबाही गरेपछि मल्लले प्रदेशसभा सदस्यबाट राजीनामा दिए । मल्ल कांग्रेस बीपीको उपाध्यक्ष समेत हुन् । डडेलधुरामा २०४८ सालदेखि लगातार प्रतिनिधिसभामा देउवा निर्वाचित हुँदै आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्