झण्डै दुई महिनादेखि सत्तारुढ गठबन्धनमा सिट बाँडफाँडको कसरत

काठमाडौं– सत्तारुढ गठबन्धनले गत साउनभित्रै प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँड टुंग्याउन तयारी गरे पनि सम्भव हुन सकेको छैन । झण्डै दुई महिनादेखि सिट बाँडफाँडको कसरत भइरहेको छ, तर कुनै निष्कर्षमा पुग्न सकेको छैन । कार्यदलका एक सदस्य जनता समाजवादी पार्टीका महासचिव राम सहाय प्रसाद यादवले कार्यदल तहबाट सुल्झाउन नसकिएको बताउनुभयो ।

कांग्रेसलाई ९० देखि १०० सिट हुने गरी बाँडफाँड गरिएकोमा गठबन्धनका अन्य दल सन्तुष्ट हुन सकेनन् । करिव ३० भन्दा बढी सिटमा धेरै दलको दाबी रहँदा समस्या सुल्झिन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ । सत्तारूढ पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने गरी ११ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवप्रसाद गुरूङ हुनुहुन्छ । नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा छन् भने जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदलमा हुनुहुन्छ ।

राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ । गठबन्धनका दलहरुबीच कार्यदल तह र शीर्ष तहमा अनेकौं पटक छलफल भएका छन् । कार्यदलमा कांग्रेसले मोटामोटी ९० सिट, माओवादीले ५०, एकीकृत समाजवादी र जसपाले १६÷१७ र जनमोर्चाले एक वा दुई सिट लिने सैद्धान्तिक सहमति छ । तर, कतिपय क्षेत्रमा दुई या तीन दलले प्रतिष्ठानको विषय बनाएकाले बाँडफाँड जटिल बन्दै गएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्