संसदमा ओली र प्रचण्डको दोहरी – ‘मंसिर ४ मा हेरौँला’ (भिडियो)

काठमाडौं – प्रतिनिधिसभाको अन्तिम बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दोहरी चलेको छ ।

२०७७ साल ५ पुसमा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै अलगअलग बाटो डिँडेका दुई नेताले सार्वजनिक मञ्चहरुमा झैं शनिबार प्रतिनिधिसभा बैठकमा आरोप प्रत्यारोप गरे ।

एमाले अध्यक्ष ओलीले संसद विघटनको बचाउ गरे । उनले आफूले घोषणा गरेको चुनाव भएको भए नयाँ संसद आइसक्थ्यो भन्दै सोधे, ‘प्रतिगमन कहाँबाट हुन्थ्यो ?’ प्रधानमन्त्री छान्ने र हटाउने अधिकार अन्यत्रै प्रयोग गर्नुपर्छ भन्ने संविधानमा नभएको भन्दै उनले यो चाहिँ संविधानको उल्लंघन भएको बताए ।

सत्तारुढ गठबन्धनले नीति, विधि मिचेर परमादेशबाट सरकार ल्याएको भन्दै ओलीले भने, ‘निर्वाचन हुनुलाई प्रतिगमन भनिँदैन । आवश्यकता अनुसार र समयभित्र निर्वाचन भएन भने प्रतिगमन हुन्छ । हामी निर्वाचनतर्फ जाँदैछौं । म यसलाई प्रतिगमन मान्दिन । परमादेशबाट नक्कली सरकार गठन गर्नु चाहिँ प्रतिमगन हो ।’

यता प्रचण्डले भने ओलीले लोकतन्त्र र प्रतिगमनको अपव्याख्या गरेको बताए । ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन भएको भन्दै उनले भने, ‘उहाँले कताकता तुलना गरिदिनुभयो अहिले निर्वाचन गरेको पनि प्रतिगमन हो त ?’

उनले अगाडि भने, ‘तुलना गर्नुको पनि एउटा हद हुन्छ नि ! यहाँ बसेका हामी सबै केही नै नबुझ्ने छन् भन्ने ठान्नुभएको हो कि प्रतिपक्ष दलको नेताले ? नेपाली जनताले केही जान्दैनन्, भेडा नै छन् भन्ने ठान्नुभएको हो कि ?’

सम्बोधनका क्रममा ओलीले संसदले सुरुमा राम्रो काम गरेको, तर पछिल्लो समय राज्यका सबै अंग निष्प्रभावी भएको बताए । उनले भने, ‘सरकारको बारेमा केही केही भन्नुपर्दैन, मंसिर ४ गते जनताले सरकार र गठबन्धनलाई जवाफ दिनेछन् ।’

माओवादी अध्यक्ष प्रचण्डले त्यसको पनि प्रतिवाद गरे । ‘हाम्रो प्रतिपक्षी दलको नेताले भन्नुभयो, ४ गते थाहा हुन्छ को के रहेछ,’ प्रचण्डले भने, ‘म विनम्रतापूर्वक स्मरण गराउन चाहन्छु, राष्ट्रियसभा निर्वाचनले सन्देश दिएको होइन र ? बारको चुनावले सन्देश दिएको होइन । सथानीय तहको निर्वाचनले देशव्यापी सन्देश दिएको होइन र ?’

प्रतिनिधिसभा विघटन गर्नु कमजोरी भयो भन्ने स्वीकार गरेको होला भन्ने लागेको भएपनि ओलीले अझै अहंकार देखाएको भन्दै प्रचण्डले भने, ‘ठीकै छ, ४ गते हेर्ने । तपाईंले पनि हेर्नुहुन्छ, हामी पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो ।’


 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्