दार्चुला बाढी : ५ जनाको मृत्यु, १० जना बेपत्ता, ३ दर्जन बढी घरमा क्षती, सेनाको हेलिकप्टरबाट उद्धार गरिदै

तस्विर : समाजिक सञ्जाल

दार्चुला – दार्चुलामा गएराती परेको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परि अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने र १० जना बेपत्ता भएको पुष्टि भएको छ । सयौँ मानिस बाढीबाट प्रभावित भएका छन् । उद्धारमा हेलिकप्टरको समेत प्रयोग गरिएको छ ।

नेपाली सेनाको एयर एम्बुलेन्स मार्फत पहिरोमा परी गम्भीर घाइते भएका ८ जनाको उद्दार गरिएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, वर्ष ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी दार्चुला सदरमुकाम खलंगा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बाढी र पहिरोमा परी दार्चुलामा ५ जनाको मृत्यु भएको छ, भने १० जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका–१ का ४५ वर्षीया मानमती कार्की रहेको प्रहरीले जनाएको छ । बाढी र पहिरोमा परी वेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीय महामरी ठगुन्ना, नौगाड–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धन सिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साह रहेका छन् ।

बाढी पहिरोले तीन दर्जन बढी घरमा क्षती पुर्याएको छ भने केही घर नदिमै बगेका छन् । महाकाली नगरपालिकाभित्र दुई वटा विद्यालय भवन र विभिन्न स्थानमा गरी दर्जनबढी सवारी साधन समेत बाढीले बगाएको छ । बेपत्ता र घाइतेको उद्धार र खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

राहत वितरणका लागि मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली समेत दार्चुला आउदैछ । संघीय र सुदूरपश्चिम सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । तत्काल बाढी पहिरो प्रभावितलाई राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले समेत अनुरोध गरिरहेका छन् । दार्चुलामा वर्षेनी बाढी पहिरोका कारण ठूलो जनधनको क्षति हुनेगरेको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्