प्रतिनिधि सभामा श्रीमान र प्रदेशसभामा श्रीमती सिफारिस

काठमाडौँ – आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि दलहरुले धमाधम उम्मेदवार सिफारिस गरिहेका छन् । नेकपा (माओवादी) केन्द्र दार्चुलाले पनि आज प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेदवारहरुको सिफारिस गरेको छ ।

प्रतिनिधिसभा तर्फ लक्ष्मण जोशीको नाम सर्वसम्मत सिफारिस भएको छ । यस्तै प्रदेश सभा (क) बाट सुदूरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी सर्वसम्मत सिफारिस भएका छन् भने प्रदेशसभा (ख) बाट सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी (सन्तोष) सर्वसम्मत सिफारिस भएका छन् । प्रतिनिधि सभामा सिफारिस भएका जोशी र प्रदेशसभा (क) बाट सिफारिस भएको बडाल दम्पती हुन् । तत्कालिन माओवादी जनयुद्धमा दुवै जना सक्रिय भएर लागेका थिए ।

जोशी २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा दार्चुलाबाट लोकप्रिय मतका साथ विजयी भएका थिए । २०७४ सालको प्रदेश सभाको निर्वाचनमा समानुपातिकबाट प्रदेश सांसद बनेकी बडाल प्रदेशसभाको उप–सभामुख भएकी थिइन् । जोशी दम्पती दार्चुला माओवादीका प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्