जापान पुगेर पनि झुट बोले प्रचण्ड, आबे नेपाल आएका थिएनन्

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिए । त्यसपछि भने प्रचण्डले झुटो कुरा गरेका छन् ।

उनले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई सम्झिँदै उनीसँग भेट्ने इच्छा भने पूरा नभएको बताए । ‘जापान आउने निर्णय भइसकेपछि मेरो इच्छा के थियो भने, आबे जो पूर्वप्रधानमन्त्री, उहाँलाई भेट्ने भनेर मिलाउन कोशिस गरिरहेको थिएँ’ प्रचण्डले भने, ‘जापानको राजदूतसँग नेपालमा दूतावासमार्फत कुराकानी भइरहेको थियो । किनकी पूर्वपधानन्त्रीको हैसियतले उहाँ नेपाल भ्रमण गर्दा मसँग दुई तिन पटक कुराकानी भएको थियो । असाध्यै राम्रो सम्बन्ध भएको थियो हाम्रो, एक अर्काप्रति इन्टर्क्यासन(अन्तरक्रिया) राम्रो भएको थियो ।’

तर प्रचण्डले भनेजस्तो जापानका पूर्वप्रधानमन्त्री आबेले नेपाल भ्रमण गरेका थिएनन् । नेपालस्थित जापानी दूतावासका अनुसार आबेले नेपाल भ्रमण गरेका छैनन् । सन् २००० को अगस्टमा जापानका प्रधानमन्त्री योसिरो मोरीले नेपाल भ्रमण गरेका थिए । जापानी प्रधानमन्त्री नेपाल आएको यो एकमात्र घटना हो । त्यसपछि भने जापानका दुई जना परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गरेका छन् । पछिल्लो पटक सन् २०१९ को जनवरीमा जापानी परराष्ट्रमन्त्री तारा कोनोले नेपाल भ्रमण गरेका थिए ।

जापानका पूर्वप्रधानमन्त्री ६७ वर्षीय आबेको गत महिना गोली हानेर हत्या भएको थियो । प्रचण्डले यो घटना असाध्य दुखद भएको र जापानका लागि दुर्भाग्यपूर्ण भएको बताए । ‘उहाँलाई भेटेर नेपाल र जापनको सम्बन्ध अर्को हाइटमा कसरी लाने भन्ने मेरो इच्छा थियो, त्यो पूरा भएन । असाध्यै दुखद घटना भयो, जाापानका लागि दुर्भाग्यपूर्ण घटना हो ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्