जिल्ला अस्पताल दार्चुलाका स्टाफ प्रहरी हिरासतमा, तत्काल रिहा नगरे आकस्मिक बाहेकका सेवा बन्द गर्ने अस्पतालको चेतावनी

दार्चुला – जिल्ला अस्पताल दार्चुलाका एक जना स्टाफलाई काँग्रेसका स्थानीय नेता श्याम सिनालले अस्पतालमै आएर हातपात गरेका छन् । सिनालले रेडियो ग्राफर मन्दिर कुँवरलाई अस्पताल परिसर भित्रै आएर हातपात गरेको जिल्ला अस्पताल दार्चुला स्रोतले बतायो । रेडियो ग्राफर कुँवर करार कर्मचारी हुन् । सिनालका छोरा आतिस सिनाल पनि एचए पदमा जिल्ला अस्पताल दार्चुलामा करार पदमा कार्यरत छन् । मन्दिर र आतिसबीच केही समय अगाडी देखि आपसी मनमुटाव भएको अस्पतालका एक जना कर्मचारीले उपहार खबरलाई जानकारी दिए । दुबै जनाको मनमुटाव भएको र मंगलबार अस्पतालमा एक्कासी आतिसका बुवा श्याम सिनाल आएर स्टाफ माथि हातपात गरेको अस्पताल स्रोतले बतायो । सिनाल झगडा गर्ने नियत राखेर अस्पतालमा आएको र कुँवरले पनि सिनलाई कुट्दा सिनालका छोरा आतिसले भिडियो बनाएको तर सिनालले कुँवरलाई कुट्दा मोबाइल बन्द गरेको अस्पतालको आरोप छ । कुटाईबाट रेडियो ग्राफर कुँवरको आँखामा चोट लागेको छ । दुबैपक्षबीच भएको झगडालाई लिएर प्रहरीले कुँवरलाई विना उजुरी नै बुधबार थुनामा राखेको अस्पतालले जनाएको छ । विना उजुरी थुना राख्न नमिल्ने भएपनि प्रहरीले पिडकलाई नै संरक्षण गरेको भन्दै अस्पतालका एक कर्मचारीले गुनासो गरे । यता प्रहरीले भने छलफलका लागि मात्रै दुबै पक्षलाई बोलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार दुवै पक्षलाई छलफलका लागि मात्रै बोलाइएको छ ।

यता अस्पताल प्रशासनले भने कुँवरलाई तुरुन्त रिहा नगरे आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ । आज पनि अस्पतालले दिउँसो पछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको थियो । स्टापमा भएको मनमुटावमा अभिभावक आएर स्वास्थ्यकर्मी कुट्नु खेदजनक भएको अस्पतालका एक कर्मचारीले बताए ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्