काँग्रेसका कार्यकर्ताले निर्वाचन अधिकृतको हातबाटै मतपत्र खोसेर च्याते

File photo

काठमाडौँ – ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिशंखुगढी गाउँपालिका वडा नम्बर ३ को मत गणनाको क्रममा माओवादीका उम्मेदवारसँग मत बराबर भएपछि काँग्रेस कार्यकर्ताले एउटा मतपत्र च्यातेका हुन् ।

मतपत्र च्यातेको आरोपमा काँग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गाना समेतको समूहले निर्वाचन अधिकृतको हातबाटै मतपत्र खोसी च्यातेका हुन् । मतपत्र च्यात्ने काँग्रेसका जिल्ला सचिव ढुङ्गानासहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख डिएसपी सुकदेव खनालका अनुसार यतिबेला जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको छ । पक्राउ परेकाहरुलाई हतकडी लगाएर राखिएको छ ।

ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए । गाउँपालिका अध्यक्षमा माओवादीका निशान्त शर्मा बास्तोला उठेका छन् भने उपाध्यक्षमा काँग्रेसका सन्तोषबाबु थापालाई उठाइएको छ ।
गाउँपालिकामा गठबन्धन गरेपनि वडा तहमा भने गठबन्धन गरिएको थिएन । चिशंखुगढी गाउँपालिका ३ मा काँग्रेसका तर्फबाट मिन बहादुर आले मगर र माओवादीका तर्फबाट भिष्म श्रेष्ठ वडा अध्यक्षमा उठेका थिए । उनीहरुको मत बराबर भएपछि पुन गणना गर्न थालिएको थियो ।

एकपटक मत बराबर भएपछि पुनः मतगणना गर्ने क्रममा एउटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद भएको थियो । विवादकै क्रममा निर्वाचन अधिकृतले नजिकैबाट दलका प्रतिनिधिलाई मतपत्र देखाउने क्रममा काँग्रेसका जिल्ला सहिच ढुङ्गाना लगायतको समूले निर्वाचन अधिकृत कमला काफ्लेको हातबाट मतपत्र खोसेर च्यातेका हुन् । मतपत्र च्यातिएपछि त्यहाँ पुनः मतगणना स्थगित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्