सावधानी अपनाऔँ : आज (शुक्रवार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना

सांकेतिक तस्बिर

आज (शुक्रबार) हावाहुरी, चट्याङ र असिनासहित ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुमा पश्चिमी वायुसमेत मिसिएकाले आज प्रिमनसुन लागेयताकै अलि ठूलै वर्षा हुने सम्भावना देखिएको हो ।

साथै हावाहुरी आउने, चट्याङ र असिना पर्ने सम्भावना पनि उत्तिकै रहेको छ । ‘यो प्रि–मनसुनका बेला खासगरी स्थानीय वायुको प्रभावले मौसम बदली हुन्छ, तर पश्चिमी वायुसमेत मिसिँदा मौसमी प्रणाली अलि शक्तिशाली हुन्छ, । आज विशेषगरी पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने सम्भावना छ तर मध्य र पूर्वी क्षेत्रमा पनि यसको थोरै सम्भावना छ ।

हावाहुरी, चट्याङ र असिनासहितको वर्षा दिउँसो र राति हुने सम्भावना छ । यसैगरी पश्चिमदेखि पूर्वसम्मकै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ ।

वर्षा हुने, रोकिने र फेरि आधा एक घण्टापछि नै वर्षा हुने क्रम दोहोरिरहने देखिन्छ । यसैगरी वर्षाका साथमा आज हावाहुरी पनि आउने प्रबल सम्भावना रहेकाले आवश्यक होसियारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि शनिबार पनि देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने सम्भावना छ । यसैगरी काठमाडौं उपत्यकामा अपराह्नपछि चट्याङ र असिनासहित क्षणिक वर्षा हुने सम्भावना छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्