मतदाता धम्क्याउँदै दाहाल र राणा

चितवन र डडेलधुरा — पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणाको अभिव्यक्तिको आलोचना भएको छ । दाहालले छोरी रेनुले भरतपुरमा नजिते देश दुर्घटनामा पर्ने भन्दै मतदाता तर्साउन खोजेका थिए भने आरजुले आफ्नो दलले नजितेका पालिकामा बजेट नै नपठाउने धम्की दिएकी थिइन् ।

सत्ता गठबन्धनले बिहीबार भरतपुरमा गरेको सभामा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष दाहाललगायत शीर्ष नेताले बोलेका थिए । दाहालले रेनु र चित्रसेनको टिम विजयी भए आफू निकै उत्साहित हुने र यो गठबन्धनलाई १०, १५, २० वर्ष लैजाने बताएका थिए । तर, कांग्रेस मतदातातर्फ लक्षित गर्दै उनको भनाइ थियो, ‘हँसिया हथौडामा भोट हाल्दिनँ भन्नुभयो भने, मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिनँ, तर देश दुर्घटनामा पर्ने खतरा छ, त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गर्नेहरूले दिनुपर्नेछ ।’

दाहालको यो अभिव्यक्तिको सबैतिरजस्तै चितवनमा पनि विरोध भएको छ । मतदातालाई धम्क्याउनु सह्य नहुने चितवनकी कानुन व्यवसायी फूलमाया रानाभाटको भनाइ छ । ‘गठबन्धनको औचित्य छ भने जनतालाई राम्रोसँग बुझाउनुपर्नेमा कसैको जितहारमा देशको भविष्य जोडिन्छ भन्नु अनुचित हो । आफूलाई मत नदिए देश दुर्घटनामा पर्छ भन्ने भाषा धम्कीपूर्ण छ, यो सह्य छैन,’ उनले भनिन् ।

चितवनका अर्का कानुन व्यवसायी वरिष्ठ अधिवक्ता धर्मराज आचार्य दाहालको भाषणमा मतदातालाई घुक्र्याएको, धम्क्याएको संकेत देखिएको बताउँछन् । ‘मत दिने, नदिने मतदाताको रोजाइको विषय हो, नेताहरूले मतदातालाई मनाउने हो, यथार्थ बताउने हो,’ आचार्य भन्छन्, ‘मैले पनि दाहालको भाषण समाचार र टीभीमा सुनें । उहाँजस्तो नेताले कुनै चिह्नमा मत नदिए देश नै दुर्घटनामा जान्छ नभनेको भए राम्रो हुन्थ्यो ।’

अर्का कानुन व्यवसायी जगन्नाथ भण्डारीले दाहालले मतदाता तर्साउने उद्देश्यले नै त्यसरी बोलेको बताउँछन् । ‘दुर्घटनामा जान्छ भनेर एक पटक हैन, पटक–पटक भन्नुभएको छ, उहाँको हाउभाउ नै अर्कै देखिन्छ,’ भण्डारी भन्छन्, ‘उहाँले जे जसरी बोल्नुभयो, त्यसले उहाँहरूले निर्वाचनलाई स्वाभाविक प्रक्रियाबाट सम्पन्न गर्न चाहेको हो वा हैन भन्ने आशंका बढेर गएको छ ।’ भरतपुरका मूर्तिकार सूर्य मध्यरातलाई पनि दाहालको अभिव्यक्ति चित्त बुझेको छैन । ‘उत्तेजनामा आएर बोलेको हो, मलाई त्यही अनुभव भयो, यसरी बोल्नु राम्रो हुँदैन,’ उनी भन्छन् । रेनु दाहालले प्रमुख भएर केही राम्रो काम गरेकाले त्यसैको प्रचार गर्दै मत मागेको भए उचित हुने उनको भनाइ छ ।

 

सभाको अन्तिममा बोलेका प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सत्तारूढ गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको र त्यो सफल भए गठबन्धन नरहने र कांग्रेस पार्टी पनि खत्तम हुने बताएका थिए । ‘गठबन्धन टुटाउने षड्यन्त्र चितवन भरतपुरबाट कुनै पनि हालतमा हुनुभएन,’ देउवाले भने । उनले प्रमुखमा रेनु दाहाललाई जिताए गठबन्धन १०/२० वर्ष जाने बताए ।

बिहीबार नै डडेलधुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवापत्नी आरजुले कांग्रेसले हारेका नगरपालिकामा पैसा नपठाउने अभिव्यक्ति दिइन् । ‘जहाँ हाम्रो मेयर नै हुन्न त्यहाँ हामी किन पैसा पठाउँछौं ? कसले पैसा पठाउने ?’ डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकामा आयोजित सभामा राणाले गरेको भाषणको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

उनले कांग्रेसबाट विद्रोह गरेर एमालेको सहयोगमा उम्मेदवार भएकाहरूलाई लक्षित गर्दै भनेकी थिइन्, ‘अहिले पार्टी सिष्टम छ, पाँच दलको गठबन्धन छ, भोलि विकास बजेट आवश्यक पर्‍यो भने करुवावाला (बागी समूहको चुनाव चिह्न) को फोन कसले उठाउँछ ? कसले मान्छ उनीहरूले भनेको ? कांग्रेसले जित्यो भने शेरबहादुर दाइ, आरजु भाउजूलाई फोन गरेर समस्या भन्न सक्नुहुन्छ तर करुवावालाको फोन कसले उठाउने ? उनीहरूलाई कसले पत्याउने ? कांग्रेसले उनीहरूले भनेर बजेट हाल्दैन, जहाँ कांग्रेसको मेयर हुँदैन त्यहाँ हामीले बजेट किन हाल्ने ?’

कांग्रेसबाट विद्रोह गरेर कांग्रेस (बीपी) को चुनाव चिह्न करुवाबाट निर्वाचन लडिरहेका उम्मेदवारलाई लक्षित गर्दै राणाले यस्तो अभिव्यक्ति दिएकी हुन् । उनको थप भनाइ थियो, ‘करुवा, सरुवा, हरुवाहरूलाई भोट नहाल्नुस्, कांग्रेसलाई मत दिनुहोस्, विकास हामी गर्छौं ।’

आरजुको भनाइ निन्दनीय भएको टिप्पणी गर्छिन् एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सेना । ‘जनताले नुनदेखि सुनसम्म किन्दा तिरेको करले जम्मा भएको पैसा कसैको दयामायाले स्थानीय तहले पाउने होइनन्, स्थानीय तहले बजेट प्राप्त गर्नु संवैधानिक अधिकार हो,’ भन्छिन्, ‘आरजुले नजानेर बोलेको भए धेरै सिक्न बाँकी छ, जानेर बोलेको भए निन्दनीय र दण्डनीय छ । यो कुरा अहिलेका मतदाताले बुझेका छन् ।’

कांग्रेस नेता–कार्यकर्ताले भने भाषणको आशयलाई बंग्याएर सामाजिक सञ्जालमा राणाविरुद्ध प्रचारबाजी गरिएको आरोप लगाएका छन् । ‘नियोजित रूपमा भाषणको एउटा अंशलाई मात्र देखाएर कुप्रचार गरिएको हो,’ राणासँगै आमसभामा रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्द बोहराले भने, ‘निर्वाचनलाई प्रभावित पर्ने उद्देश्यले आशय नै बंग्याएर प्रचारबाजी गरिएको छ ।’

डडेलधुरा कांग्रेसका पूर्वसभापति कर्णबहादुर मल्ललगायतको समूहले एमालेसँग तालमेल गरी तीन स्थानीय तहमा प्रमुख र दुई स्थानीय तहमा उपप्रमुखमा उम्मेदवार खडा गरेको छ । कान्तिपुरबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्