आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुन्छ : डा.उप्रेती

अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा.सुरेन्द्र उप्रेतीले नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि हुने दाबी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित प्रतिस्थापन बजेट कार्यान्वयन र आगामी बजेटका प्राथमिकता विषयक कार्यक्रममा बोल्दै उनले तथ्याङ्क विभागले आर्थिक वृद्धिदरमा प्रक्षेपण गरेको भन्दा बढी हुने बताएका हुन् ।

उनले अहिले मुलुकको अर्थतन्त्र सही दिशामा रहेको बताउँदै अर्थतन्त्रको बाह्य क्षेत्र र मुद्रास्फीतिमा दबाब रहेको स्वीकार गर्दै यो समस्या चाँडै समाधान हुने दाबी समेत गरे । उनले कोरोना महामारी पश्चात् बैंक तथा वित्तीय संस्थाहरूबाट उच्च कर्जा लगानी हुँदा पनि अहिले अर्थतन्त्रमा केही समस्या देखिएको बताए ।

मौद्रिक नीतिले १९ प्रतिशत कर्जा लगानी हुने अनुमान गरे पनि केही समय अगाडि ३८ प्रतिशतसम्म पुगेको बताए । निर्यात भन्दा पनि आयात एक्कासि रूपमा ह्वात्तै बढेकाले बाह्य क्षेत्रमा दबाब परेको उनको जिकिर छ । आर्थिक सल्लाहकार उप्रेतीले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत मूल्यवृद्धि हुने अनुमान भए पनि रुस र युक्रेनको युद्धको कारणले ७.१ प्रतिशतको मूल्यवृद्धि भएको उल्लेख गरे । उनले सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि, उत्पादन रोजगारीमा केन्द्रित हुने बताए ।

उनले भने, ‘हामीले यस वर्षको नीति तथा कार्यक्रम बजेटमा केही फन्डामेन्टल पक्ष आधारभूत नीतिगत व्यवस्थालाई पुनर्विचार गर्न पर्ने आवश्यकता आएको छ । अब देश सधैँ आयातमा निर्भर भएर चल्नेवाला छैन । उत्पादन सँगै रोजगारी देशभित्र नै सृजना गर्न सकिएन भने समृद्धिको सपना पूरा गर्न सकिँदैन । विल्कुलै सकिँदैन ।’

‘विश्वमा कोरोना महामारीपछि नेपालको अर्थतन्त्रमा तीव्र रूपमा चलायमान भयो । तीन महिनाअघि नै ९८ प्रतिशत उद्योगहरू पूर्णरुपमा सञ्चालनमा आए । देशको अर्थतन्त्रभन्दा नेपाल छिट्टै पुनरुत्थानको गतिमा गयो, त्यसले केही बाह्य क्षेत्रमा दबाब पुग्यो, अर्थतन्त्र ९९ प्रतिशत चलायमानमा गइसकेको छ, एकैपटक चलायमान हुन खोज्दा बाह्य क्षेत्रमा दबाब देखिएको छ,’ उनले थपे, ‘कृषि क्षेत्रमा हामी खस्किँदै गएका छौँ, गत वर्ष ३ खर्ब २५ अर्बको कृषिजन्य वस्तुको आयात भएको थियो, यो समस्या नै हो, अब कृषिमा फरक नीति र कार्यक्रम हुनै पर्छ, उत्पादनमा आधारित अर्थतन्त्र नीति अगाडि बढाएर रोजगारीलाई सपोर्ट गर्ने कार्यक्रम ल्याउनै पर्छ, बजेट यिनै क्षेत्रमा प्राथमिकतामा राखेर आउँछ । हाम्रो आर्थिक वृद्धिदर ५.८४ होइन त्यो भन्दा बढेर ६ प्रतिशत भन्दा माथि जान्छ । अहिलेको अर्थतन्त्रले हामीले उत्साहित बनाएको छ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्