मतपत्रको छपाई सम्पन्न, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई सोधियो स्पष्टिकरण

काठमाडौँ– स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि आवश्यक पर्ने मतपत्रको छपाई सम्पन्न भएको छ । भोलि शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगले जनाएको छ । बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको पनि आयोगले जनाएको छ । यसैबीच आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देश गरेको छ ।

उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारवाही गर्न सबै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ । मतदान कार्यका लागि खटिएका कर्मचारीलाई अनिवार्य रूपमा आफू खटिएको ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश गरेको छ । यसैबीच, निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लब्घन गर्ने ३७
व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई आयोगले लिखित जवाफ पेश गर्न भनेको छ । कैलालीको कैलारी गाउँपालिका ७ विपतपुरका अग्निपीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई
तत्कालका लागि प्रतिपरिवार ५० हजार रुपियाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भनी मुख्यमन्त्री भट्टले अभिव्यक्ति दिनुभएको थियो ।

सो जानकारी आयोगमा प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ को व्यवस्थाअनुसार उहाँलाई आयोगले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न अनुरोध गरेको हो । निर्वाचन पर्यवेक्षण समिति, नेपालका अध्यक्षप्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी अभिव्यक्ति दिएकाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । पोखरेलले निर्वाचन आयोग, आयुक्तहरू, अयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिनुभएको थियो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका ५ का अध्यक्ष धर्मनाथ चौधरीले निर्वाचन आचारसंहिता, २०७८ विपरित मतदातालाई प्रभाव पार्नेगरी गतिविधि गरेकाले चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । उम्मेदवार चौधरीले एक महिलालाई दुई हजार रुपियाँ नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएको समेत व्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) को तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहनुभएका बालेन साहको विषयमा अभिव्यक्ति दिनुभएको सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता, २०७८ अनुकूल नभएकाले सो विषयमा आधार कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्